श्रावण १४, २०८३ बिहिबार July 30, 2026

लिपुलेक र कालापानीबारे पाँच वर्षमा भारतलाई तेस्रो विरोधपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतले नेपालको जमिन कालापानी हुँदै लिपुलेक भएर चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालले भारतलाई औपचारिक रूपमा विरोधपत्र पठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर सडक निर्माणबारे स्पष्टीकरण लिएको र नेपाली भूभागमा सडक निर्माण गरेकोमा आपत्तिसहितको पत्र बुझाएको स्रोतले जनाएको छ । लिपुलेक र कालापानीका विषयमा पाँच वर्षयता नेपालले भारतलाई बुझाएको यो तेस्रो विरोधपत्र हो ।

परराष्ट्र मन्त्रालयले ट्विटरमार्फत भारतलाई कूटनीतिक नोट (विरोधपत्र) हस्तान्तरण गरिएको जनाएको छ । ट्विटरमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सीमा विषयमा नेपालको धारणा राख्नुभएको छ । र, कूटनीतिक नोट हस्तान्तरण गरिएको छ ।’ वार्ताबारे परराष्ट्रका अधिकारीहरू औपचारिक प्रतिक्रिया दिन तयार भएनन् ।

भारतीय दूतावासले पनि भेटवार्ताबारे ट्विटरमार्फत् पुष्टि गरेको छ ।  राजदूत क्वात्राले लिपुलेकमा निर्माण भएको सडकबारे भारतीय विदेश मन्त्रालयद्वारा शनिबार जारी वक्तव्य हस्तान्तरण गरेको दूतावासले जनाएको छ । दूतावासको ट्विटमा भनिएको छ, ‘भारतीय राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुभयो । राजदूत क्वात्राले त्यस सम्बन्धमा भारतीय धारणा प्रस्तुत गर्नुभयो र भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यको कपी हस्तान्तरण गर्नुभयो ।’

स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय राजदूत क्वात्रालाई सडक निर्माणबारे प्रश्न गरेका थिए । उनले कालीनदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग रहेको र भारतले सडक निर्माण गर्नु अनुचित र गलत भएको उल्लेख गरेका थिए । ज्ञवालीले थप सडक निर्माण कार्य रोक्न र परराष्ट्रसचिवस्तरीय संयन्त्रमार्फत यथाशीघ्र यस विषयमा वार्ता गर्ने नेपालको चाहना व्यक्त गरेका थिए । भारतीय राजदूत क्वात्राले भने आफ्नै भूमिमा भारतले सडक निर्माण गरेको र नेपालको सार्वभौमसत्तामाथि भारतले अतिक्रमण नगरेको प्रस्टीकरण दिएका थिए । उनले कालापानीका विषयमा परराष्ट्रसचिवस्तरीय वार्ताका लागि भारत तयार रहेको भन्दै कोरोना महामारीलगत्तै वार्ताको मिति तय गर्नुपर्नेमा जोड दिएका थिए ।

गत १६ कात्तिकमा नेपालको कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि सरकारले भारतलाई ४ मंसिरमा कूटनीतिक रूपमा विरोधपत्र पठाएको थियो । परराष्ट्रसचिव शंकरदास वैरागीले नेपालका लागि तत्कालीन भारतीय राजदूत मन्जिबसिंह पुरीलाई मन्त्रालय बोलाएर विरोधपत्र दिएका थिए । विरोधपत्रसँगै नेपालले परराष्ट्रसचिवस्तरीय बैठकका लागि प्रस्ताव गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका चिनियाँ समकक्षी ली खछियाङबीच १ जेठ २०७२ मा बेइजिङमा औपचारिक वार्तापछि जारी संयुक्त वक्तव्यपछि पनि नेपालले भारतलाई विरोधपत्र लेखेको थियो । दुई देशले लिपुलेकलाई व्यापार र तीर्थयात्रीको आवागमनका लागि खुला गर्ने सहमति गरेको संयुक्त वक्तव्य सार्वजनिक भएको थियो । सरकारले जेठ अन्तिम साता भारत र चीन दुवैलाई त्यसवेला विरोधपत्र बुझाएको थियो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उत्तराखण्डको घटियावगढदेखि नेपालको कालापानी हुँदै लिपुेकसम्म जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेका थिए । शनिबार नेपालले विज्ञप्तिमार्फत लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको र त्यहाँ बाटो निर्माण गरेर भारतले विगतका उच्चस्तरीय सम्झौता र समझदारी उल्लंघन गरेको आरोप लगाएको थियो । शनिबार नै भारतले पनि सडक निर्माण भएको भूमि आफ्नो भएको दाबी गर्दै कोरोना महामारीलगत्तै परराष्ट्रसचिवस्तरीय वार्ताका लागि सकारात्मक जवाफ दिएको थियो । यो खबर नयाँपत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार