असार १, २०८३ सोमबार June 15, 2026

एनएसएल : बुटवल लुम्बिनीले काठमाण्डौंलाई हरायो, इलामसँग हारबाट जोगियो धनगढी

काठमाडौँ रेजर्सको ४ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिंग इलामले २-२ गोलको बराबरी खेलेका छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौँ रेजर्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो खेलमा २-१ गोल अन्तरले पछि परेको धनगढीले खेलमा शानदार कमब्याक गर्दै आफुलाई हारबाट बचाएको थियो । धनगढीका लागि रिचार्ड अगएमांगले खेलको ६८औ मिनेटमा र आफीज ओलावालेले खेलको ८३औं मिनेटमा गोल गर्दै हारबाट बचाएका थिए । त्यसअघि खेलको पहिलो हाफको ४४औं मिनेटमा स्पोर्टिंग इलामका लागि फोडे कामरा र ४५औं मिनेटमा ओमार थिओमले गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

यो बराबरीपछि धनगढी एफसीको ४ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । समान ४ खेलमा ८ अंक रहेको पोखरा ठण्डर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै स्पोर्टिंग इलामको भने यो बराबरीपछि ५ खेलमा ४ अंक भएको छ र सातौ स्थानमा रहेको छ ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा बुटवल लुम्बिनीले काठमाडौँ रेजर्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बुटवल लुम्बिनीको जितमा स्टेफेन समिर बिनोंग र एरिक विष्टले एक एक गोल गरेका थिए भने काठमाडौँ रेजर्सका लागि एक गोल राजीव लोप्चनले गरेका थिए ।

यो जितपछि बुटवल लुम्बिनीको ५ खेलमा ७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौँ रेजर्सले भने यो यस सिजनमा पहिलो हार बेहोरेको छ । यो हारपछि काठमाडौँ रेजर्सको ४ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया