असार ३०, २०८२ सोमबार July 14, 2025

प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव स्थगन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागेको रष्ट्रिय कविता महोत्सव स्थगन गरेको छ ।

प्रतिष्ठानले सूचना प्रकाशित गरी वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरिएको जनाएको हो । सूचनामा उल्लेख छ, ‘कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी र लकडाउनका कारणले असार ९ गते आयोजना गरिने विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सव हाललाई स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि योसूचना प्रकाशन गरिएको छ ।’

प्रतिष्ठानले जेठ २५ गतेसम्म आइपुगेका कविताहरूलाई एकत्रित गरेर गोप्य लाहा छापसहित खामबन्दी गरी सुरक्षित राखिएको जनाएको छ । प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले कोरोनाको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसको पूर्वजानकारी सार्वजनिक सूचनामार्फत गराइने बताएका छन ।

उपाध्यायले महोत्सवमा प्रतियोगिताका लागि बुझाइएका कविताहरू कार्यक्रम सम्पन्न नहुन्जेलसम्म विद्युतीय वा छापालगायत कुनै पनि माध्यमबाट प्रसारण, प्रकाशन वा सार्वजनिक नगर्न÷नगराउन सम्बद्ध कविहरूलाई सूचित गरिएको बताएका छन । उनले कार्यक्रम सम्पन्न गर्नुभन्दा अगाडि यीमध्ये कुनै कविता प्रकाशन, प्रशारण वा कुनै पनि माध्यमबाट सार्वजनिक भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने र कार्यक्रम पूर्व प्रकाशन, प्रसारण वा सार्वजनिक भइसकेको प्रमाणित भएमा सम्बन्धित कवितालाई पुरस्कृत सूचीबाट समेत हटाइने बताएका छन ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले महोत्सवका लागि ५०२ वटा कविता प्राप्त भएको जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया