काठमाडौंः इंग्ल्यान्ड र ब्राजिलबीचको मैत्रीपूर्ण फुटबलमा ब्राजिल १-० गोलले विजयी भएको छ । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा ब्राजिलले संघर्षपूर्ण जित दर्ता गरेको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफको अन्तिम १५ मिनेट बाँकी रहँदा दुवै टिमले खेलाडीहरुमा रणनीतिक परिवर्तन गरेका थिए । त्यसैको फलस्वरुप ८० औं मिनेटमा ब्राजिल गोल गर्न सफल भयो । युवा फरवार्ड एन्ड्रिकले गोल गरे। एन्ड्रिक खेलको ७० औं मिनेटमा रोड्रिगोको ठाउँमा मैदान प्रवेश गरेका थिए । यता ५३ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि इंग्ल्यान्डले गोल फर्काउन सकेन।
यही वर्ष आयोजना हुने युरो कपको तयारी गरिहेको इंग्ल्यान्डले यो हारबाट महत्वपूर्ण पाठ सिकेको प्रमुख प्रशिक्षक साउथगेटले बताएका छन्। युरो-२०२४ अघि इंग्ल्यान्डले बेल्जियम, आइसल्यान्ड र बोस्निया-हर्जेगोभिनासँग पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
यता दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार हारबाट गुज्रिरहेको ब्राजिलले त्यसयता पहिलो जित दर्ता गरेको हो। विश्वकप छनोटका ६ खेलमा ब्राजिलले दुई खेलमा मात्र जित दर्ता गरेको छ । खेलको आगन्तुक टिम ब्राजिल पहिलो पटक डोरिभल जुनियरको प्रशिक्षणमा मैदान उत्रिएको थियो । ब्राजिल यसै वर्ष हुने महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको तयारीमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया