काठमाडौँ । बुधबार सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने छ ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो । बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गरेको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने छन् ।
बुधबारको बैठकले सातवटा एजेण्डा तय गरेको थियो । जसमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्ध सरकारले गरेका काम कारबाही, नेपालको सीमा समस्या र समाधानका लागि भएको प्रयास, सरकारको कामको समग्र समीक्षा, पार्टी एकताको बाँकी, एमसिसी, रूकुम घटना, नागरिकता विधेयक र सांसदको बैठक भत्ताबारे छलफल हुनेछ।
नेताहरुका अनुसार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरुले सरकारको काम कारबाही र ओलीको पार्टी सञ्चालनबारे चर्को आलोचना गर्ने रणनीति तय गरेका छन्।
दाहाल र नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाब दिने स्रोतले बताएको छ । बुधबारको बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्काप्रति अविश्वास र असन्तुष्टि व्यक्त गरेका थिए ।
दुवैले अध्यक्षले पार्टी व्यवस्थित हुन नसकेको स्वीकार गर्दै एकले अर्कालाई असहयोग गरेको आरोप लगाएका थिए ।
ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी भित्रैबाट असहयोग र आलोचना भएको बताएका थिए भने दाहालले सहमतिका साथ पार्टी र सरकार सञ्चालन गर्ने सहमति तोडिएको बताएका थिए ।
यसअघि नेकपाको स्थायी समिति बैठक गत पुस पहिलो हप्ता सबेको थियो। एमसिसीबारे निर्णय गर्न वैशाख २५ गते बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया