असार २९, २०८२ आइतबार July 13, 2025

इजरायली टोली गाजासम्बन्धी सम्झौताका लागि कतार जाने

हमास आक्रमणको प्रत्युत्तरमा इजरायलले गाजामा गरेको हवाइ तथा स्थल आक्रमणमा कम्तीमा ३८ हजार ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम, असार २१ गते । इजरायल हमास युद्धभएको करिब नौ महिनापछि गाजामा हमास प्यालेस्टिनी लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई मुक्त गर्ने पछिल्लो प्रयासका लागि इजरायलका गुप्तचर प्रमुख शुक्रबार कतारमा जाने अपेक्षा गरिएको छ ।

वार्ताबारे जानकार एक स्रोतका अनुसार मोसाद गुप्तचर सेवाका प्रमुख डेभिड बर्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल ‘गाजामा दुवै पक्षलाई सम्झौताको नजिक ल्याउने उद्देश्यले’ छलफलका लागि खाडी मुलुक कतारतर्फ जान लागेको हो ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धले लेबनानसँग सम्बन्धित व्यापक द्वन्द्वको डर बढाएको छ । हमासले गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश सर्वसाधारण थिए ।

हमास लडाकूले आक्रमणपछि करिब २५० जनालाई बन्धक बनाएका थिए भने तीमध्ये करिब आधा बन्धकलाई यस पहिलेको युद्धविराम र बन्धक तथा बन्दी रिहाई सम्झौता अन्तर्गत रिहा गरिएको छ । बाँकी बन्धकमध्ये ४२ जना मारिएका र अझै ११६ जना हमास लडाकूको नियन्त्रणमा रहेको इजरायली सेनाले दावी गर्दै आएको छ ।

हमास आक्रमणको प्रत्युत्तरमा इजरायलले गाजामा गरेको हवाइ तथा स्थल आक्रमणमा कम्तीमा ३८ हजार ११ जनाको मृत्यु भएको र मारिनेमा अधिकांश महिला तथा बालबालिका तथा सर्वसाधारण रहेका हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

नाम नबताउने शर्तमा कतारी अधिकारीले भने, “बार्नेयाले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई भेट्नुहुनेछ ।

इजिप्टसँग मिलेर महिनौँदेखि सम्झौताका लागि सहयोग गर्ने प्रयास गरिरहेको संयुक्त राज्य अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रतिनिधिमण्डल पठाउने निर्णयको स्वागत गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत जुनमा बाइडेनले अघि सारेको योजनाको स्वागत गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको थियो, जसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेनाको फिर्ता र हमासद्वारा बन्धकहरूलाई मुक्त गर्ने समावेश थियो तर वार्ता पछि रोकियो ।

एक वरिष्ठ अमेरिकी अधिकारीले बिहीबार इस्लामिक आन्दोलनको पछिल्लो प्रतिक्रियाले प्रक्रियालाई अगाडि बढाउने र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्ने बताएका थिए ।

संयुक्त राज्य अमेरिकाले इजरायल र हमाससँग सम्झौतामा पुग्नका लागि ‘धेरै महत्त्वपूर्ण अवसरको सुरूवात’ भएको विश्वास गरेको ती अधिकारीले बताए ।  रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया