श्रावण २४, २०८३ आइतबार August 9, 2026

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

धवलागिरि अस्पताल, मातृशिशु मितेरी र लमजुङ अस्पतालमा मातृशिशु प्रतिक्षा गृह सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, १६ असोज । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गरेका हुन् ।

मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि आवधिक योजना बनाएर आफूले काम सुरुआत गरेको बताए । “स्वास्थ्य क्षेत्रको आधारभूत तहदेखि सुधारका कामलाई तीव्रता दिन्छौँ, मन्त्रालयको सिङ्गो टिम कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्ध छ”, उनले भने, “सङ्घ र प्रदेशको स्वास्थ्य नीति, बजेट, प्रदेशको सम्भावना, अन्तर्राष्ट्रिय मान्यता आदिको गहन अध्ययन गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरिएको छ ।”

योजना कार्यान्वयनका लागि स्रोतको प्रबन्ध गर्न सङ्घ सरकार, विकास साझेदारलगायतसँग सहकार्य गरिने मन्त्री पाठकले बताए । कार्ययोजनामा कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

अल्पकालीन योजनातर्फ चिकित्सक एवं स्वास्थ्यकर्मी प्रोत्साहनसम्बन्धी कार्यविधि र प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्यविधि तयार गरिने मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरिने उनको भनाइ छ । निजी स्वास्थ्य संस्था दर्ता, नवीकरण र अनुगमनसम्बन्धी कार्यविधि संशोधन गरिने कार्ययोजनामा उल्लेख छ ।

प्रदेशभित्र औषधिको गुणस्तर जाँचको प्रबन्ध मिलाइने मन्त्री पाठकलले बताए । पूर्ण संस्थागत सुत्केरी अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र पाठेघर खस्ने समस्या तथा फिस्टुला रोगको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गरिने उनले उल्लेख गरे ।

गण्डकी र धवलागिरि आयुर्वेद औषधालयमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी अन्तरङ्ग सेवा व्यवस्थित गरिने भएको छ । मन्त्री पाठकले सर्ने रोग क्षयरोग, कुष्ठरोग र नसर्ने रोगको मधुमेह, उच्च रक्तचापलगायतका समुदायस्तरमा ‘स्क्रिनिङ’ गरिने मन्त्री पाठकले बताए । प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उनले बताए ।

मध्यकालीन योजनाअन्तर्गत कानुनी सुधारतर्फ अस्पताल व्यवस्थापन समिति गठन आदेशको संशोधन एवं पुनःलेखन गरिने छ । सेवा करारमा स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन कार्यविधि संशोधन गरिनेछ ।

भौतिक पूर्वाधारतर्फ लमजुङ, स्याङ्जा र दमौली अस्पतालको नयाँ भवन निर्माण सुरु गरिने कार्ययोजनामा जनाइएको छ । गण्डकी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिने उल्लेख छ ।

धवलागिरि अस्पताल, मातृशिशु मितेरी र लमजुङ अस्पतालमा मातृशिशु प्रतिक्षा गृह सञ्चालन गरिने जनाइएको छ । धवलागिरि अस्पताल, दमौली, मध्यविन्दु र स्याङ्जा अस्पतालमा ट्रमा केयर सेन्टरको स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाइने मन्त्री पाठकले बताए ।

दीर्घकालीन योजनामा स्वास्थ्य क्षेत्रको विशेषता र संवदेनशीलतालाई ध्यान दिई सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न पहल गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको कुल बजेटमा १० प्रतिशत हुने गरी व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने लक्ष्य लिइएको छ । अस्पतालमा आवासगृह व्यवस्थापन, प्रदेशमा क्यान्सर, मुट र मृगौला रोगको विशिष्टीकृत अस्पतालको स्थापना गरिने उल्लेख छ ।

बिरामीको आकस्मिक उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्थापन गरिने मन्त्री पाठकले बताए । निजी क्षेत्रले लगानी गर्न सक्ने जनस्वास्थ्यका क्षेत्र तथा परियोजना पहिचान गरी स्वास्थ्य क्षेत्र लगानी खाका तयार गरी लागू गरिने उनले बताए ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले सीमित स्रोतसाधनका बावजुत मन्त्रालय मातहतका निकायले उत्कृष्ट सेवा प्रवाह गरिरहेको दाबी गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले सङ्घ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार