असार १३, २०८३ शनिबार June 27, 2026

ओलीलाई पाँच वर्ष सत्ता सञ्चालन गर्न दिने हो भने अर्को चुनावमा नेकपा सखाप हुन्छः झलनाथ खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सत्ता सञ्चालन गर्न दिने हो भने अर्को चुनावमा नेकपा सखाप हुने बताएका छन् ।

सहाना प्रधान स्मृति प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको जुम मिटिङमा बोल्दै उनले केपी शर्मा ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको बताए ।

‘अहिले जसरी केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ,’ खनालले भने, ‘कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ। तर प्रधानमन्त्री ओलीले पार्टीको फुटको त्रास देखाएर सत्ता टिकाउन खोज्नु भएको छ।’

खनालले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिएपनि चाँडै निष्कर्षमा पुग्ने बताए। ओलीको नेतृत्वका सरकार नै अनियमितताको संलग्न भएको र त्यसबारे चित्तबुझ्दो जवाफ दिन नसकेको उनको आरोप छ।

‘नयाँ ढंगले नसोची हुँदैन,’ खनालले भने, ‘सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ।’ मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा अ‍ोलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै भर्ना गरेको खनालको भनाइ छ।

‘कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल भएर निर्णय भएको छैन । अहिलेको संघर्ष भनेको ओलीको गुट र पार्टीबीचको संघर्ष हो,’ उनले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया