श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा इन्टरनेट प्रयोगकर्ता कुल जनसंख्याभन्दा बढी

इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणको नाफा पनि पाँच गुणाले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा कुल ४ करोड ३५ लाख २३ हजार ५ सय ८८ वटा इन्टरनेट प्रयोगकर्ता रहेका छन् । प्राधिकरणको तथ्यांकनुसार द्रुत गतिको इन्टरनेट जडित मोबाइल प्रयोगकर्ताको संख्या मात्रै ३ करोड १२ लाख ११ हजार रहेको छ । इन्टरनेट सेवा प्रदायकहरूबाट घरघरमा जडित इन्टरनेटको संख्या १ करोड २३ लाख १२ हजार ५ सय पुगेको छ ।

आर्थिक वर्ष २०६५–६६ सम्म कुल जनसंख्याको २२ दशमलव ९४ प्रतिशतमा टेलिफोन सेवाको पहुँच रहेको र इन्टरनेट प्रयोगकर्ता मात्र १ दशमलव ८७ प्रतिशतमा सीमित रहेकामा आव २०८०–८१ को असार महिनाको अन्त्यसम्म आइपुग्दा कुल जनसंख्याको १२४ दशमलव २२ प्रतिशतमा टेलिफोन सेवाको पहुँच पुगेको छ भने इन्टरनेट प्रयोगकर्ता १४९ दशमलव २३ प्रतिशत पुगेको छ ।

प्राधिकरणको तथ्यांकनुसार फिक्स्ड भ्वाइस–सेवाको घनत्व २ दशमलव शून्य ५ प्रतिशत, मोबाइल सेवाको घनत्व १२२ दशमलव १६ प्रतिशत रहेको छ । प्राधिकरणका अनुसार इन्टरनेटतर्फ फिक्स्ड ब्रोडब्यान्डको (वायर–फाइवर) सेवाको घनत्व ४२ दशमलव १२४ प्रतिशत र मोबाइल ब्रोडब्यान्ड सेवाको घनत्व १०७ दशमलव शून्य २ प्रतिशत गरी जम्मा इन्टरनेट घनत्व १४९ दशमलव २३ प्रतिशत पुगेको हो ।

नेपाल सरकारले अवलम्बन गरेको नीतिअनुरूप प्राधिकरणले राष्ट्रव्यापी रूपमा ब्रोडब्यान्ड पूर्वाधार निर्माण एवं विस्तार गर्ने र दूरसञ्चार सेवालाई अझ गुणस्तरीय एवं प्रभावकारी बनाई आमउपभोक्ताको सहज पहुँच सुनिश्चितता गर्ने कार्यलाई प्रभावकारिताका साथ अगाडि बढाएका कारण इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको भनाइ प्राधिकरणको छ ।

आव २०७६–७७ मा दु्रतगतिको ब्रोडब्यान्ड प्रयोगकर्ता २ करोड १ लाख ८३ हजार रहेको थियो । आव २०७७–७८ मा आइपुग्दा ३ करोड ९ लाख ९३ हजार रहेको थियो । यसैगरी, आव २०७८–७९ मा ३ करोड ८३ लाख, आव २०७९–८० मा ३ करोड ९८ लाख रहेकामा आव २०८०–८१ मा आइपुग्दा यो संख्या ४ करोड ३५ लाख २३ हजार पुगेको छ ।

इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणको नाफा पनि पाँच गुणाले बढेको छ । आव २०७९–८० मा ३ अर्ब ८७ करोड ४७ लाख १ हजार रुपैयाँ नाफा गरेको प्राधिकरणले गत आवमा भने २३ अर्ब ८५ करोड ६५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको भन्दा १९ अर्ब ९८ करोड १८ लाख रुपैयाँले बढी हो ।

प्राधिकरणले आव २०८०–८१ मा २४ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा भने प्राधिकरणको आम्दानी ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो ।

आव २०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको सञ्चित नाफा र आम्दानी शीर्षकमा एकै वर्ष १३ अर्ब ४१ करोड रुपैयाँ थपिएको छ ।

यससँगै सो शीर्षकमा ३५ अर्ब ४५ करोड ५७ लाख पुगेको छ ।

प्राधिकरणका अनुसार यसअघि आव २०७८–७९ मा पनि प्राधिकरणको सञ्चित नाफा र आम्दानी २२ अर्ब ६१ करोड रुपैयाँ मात्र थियो भने अघिल्लो वर्ष २०७७–७८ मा ३५ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

रकम प्राधिकरणले प्रत्येक वर्ष नेपाल सरकारको संघीय सञ्चित कोषमा दाखिला गर्दै आएको छ । जसका कारण प्रत्येक वर्ष प्राधिकरण कोषमा रहेको नगद मौज्दात घट्दो क्रममा रहेको छ । प्राधिकरणको कुल सम्पत्ति आव २०७५–७६ मा ४२ अर्ब १५ करोड ९७ लाख १ हजार रुपैयाँ रहेकामा आव २०८०–८१ मा कुल सम्पत्ति ४१ अर्ब ६२ करोड ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्राधिकरणको कुल दायित्व आव २०७५–७६ मा ८ अर्ब ९३ करोड ३२ लाख ५५ हजार रुपैयाँ रहेकामा आव २०८०–८१ मा ६ अर्ब १७ करोड २५ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणको सञ्चालन आय २४ अर्ब ११ करोड ८१ लाख २७ हजार रुपैयाँ रहेको छ । कुल सञ्चालन आयमा ९९ दशमलव २६ प्रतिशत हिस्सा अनुमतिपत्र दस्तुर तथा त्यसको नवीकरण, संशोधन, बिक्री वा हक हस्तान्तरण दस्तुरबापत प्राप्त रकमको रहेको छ । प्राधिकरण कोषमा रहेको रकमको ब्याज आम्दानी पनि प्राधिकरणको आन्तरिक आयको अर्को स्रोत हो । आव २०८०–८१ मा प्राधिकरणले १७ करोड ५१ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

प्राधिकरणले गत आवमा सञ्चालन आय लक्ष्यभन्दा ५ सय ६९ प्रतिशत बढी हासिल गरेको छ । अनुमतिपत्र दस्तुरबाट पनि लक्ष्यभन्दा ५ सय ८० प्रतिशत प्रगति हासिल गरेको पाइएको छ । यस्तै, ब्याज आम्दानी पनि लक्ष्यभन्दा १ सय ६८ प्रतिशतले बढी हासिल भएको छ । जसका कारण प्राधिकरणको आम्दानी बढेको हो । कुल ४ अर्ब २३ करोड रुपैयाँको आम्दानी गर्ने लक्ष्य लिएको प्राधिकरणले गत आवमा २४ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन लक्ष्यभन्दा ५ सय ६९ प्रतिशतले बढी हो ।

दूरसञ्चार क्षेत्रको नियमन गर्ने निकाय प्राधिकरणले सार्वजनिक गरेको यस वार्षिक विवरणको अन्तिम लेखापरीक्षण हुन बाँकी छ । प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ ले प्राधिकरणको छुट्टै कोष हुने व्यवस्था गरेनुसार सोही कोषमा जम्मा भएको रकमको एकमुष्ठ विवरण सार्वजनिक गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकको बजार हिस्सा ११ प्रतिशत रहेकामा आव २०७९–८० मा भ्वाइस सेवाको बजार हिस्सा ७७ प्रतिशत र इन्टरनेट (नेटवर्क सेवा प्रदायकसमेत) सेवा प्रदायकको बजार हिस्सा २३ प्रतिशत रहेको जनाएको छ ।

दूरसञ्चार सेवाको बजारको हिस्सालाई राजस्वका आधारमा हेर्दा आव २०७५–७६ मा भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४० प्रतिशत र एनसेल आजियाटा लिमिटेडको ६० प्रतिशत बजार हिस्सा रहेकामा आव २०७९–८० मा भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५१ प्रतिशत र एनसेल आजियाटा लिमिटेडको ४९ प्रतिशत बजार हिस्सा रहेको छ ।

आव २०७९–८० मा प्राप्त गरेको वार्षिक आयको २ प्रतिशतले हुने रकम १ अर्ब ७४ करोड २६ लाख ६७ हजार ३ सय ८३ रुपैयाँ ४ पैसा मात्र सेवा प्रदायकहरूबाट यस अवधिमा ग्रामीण दूरसञ्चार विकास कोषमा दाखिला भएको जनाइएको छ । राजधानी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार