असार २४, २०८२ मंगलबार July 8, 2025

संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता

झण्डै दुई दर्जन विधेयक विचाराधीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ । अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको जानकारी दिँदै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘सरकारले संसद्को विधेयक अधिवेशन बोलाउने तयारी गरेको छ ।

पुसको अन्तिम सम्ममा बोलाउने गरी छलफल अघि बढेको छ । चाँडै बोलाउँछ ।’ प्रमुख सचेतक बर्तौलाले आगामी अधिवेशनबाट संसद्मा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्‍याउने गरी छलफल अघि बढिरहेको पनि जानकारी दिनुभयो । सरकारले संसद् अधिवेशन नबोलाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने चेतावनीसमेत दिँदै आएका छन् । सत्तारूढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकहरू समय सीमाभित्रै पास गर्न विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णयसमेत यसअघि नै गरेको छ ।

संसद्मा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारूढ दलको तर्फबाट पहल लिइरहेकाले बिजनेस समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारूढ दलका नेताहरूको भनाइ छ । बजेट अधिवेशनसमेत भनिने संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षणसमेत गर्दै आएका छन् ।

यस्तो छ विधेयकको अवस्था

संघीय संसद् सचिवालयका अनुसार हाल संघीय संसद्मा २० भन्दाबढी विधेयक विचाराधीन छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा चारवटा विधेयक विचाराधीन छन् । बैंक तथा वित्तीय संस्था विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक छ । राज्य व्यवस्था समितिमा चारवटा विधेयक विचाराधीन छ । त्यसमध्ये संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पनि छलफल गरिरहेको छ । नदीजन्य सामग्री ढुंगा, गिट्टी, बालुवा उत्खनन र निर्यातसँग जोडिएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक भने राज्य व्यवस्था समितिले अगाडि बढाएको छैन । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलमा छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक दफावार छलफलमा छ ।

एमालेले तोक्यो फोकल पर्सन

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले प्रतिनिधि सभाका विषयगत समितिमा रहेका विधेयकलाई अगाडि बढाउन पार्टीको तर्फबाट पहल गर्ने पहलकर्ता तोकेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका विधेयकबारे छलफल र समन्वय गर्ने जिम्मेवारी सांसद रघुजी पन्तले पाउनुभएको छ । अर्थ समितिमा रहेका विधेयकहरूमाथि छलफल गर्न र अगाडि बढाउने पहल लिने जिम्मेवारी सांसद सूर्य थापाले पाउँदा कानुन न्याय तथा मानव अधिकार समितिमा विधेयक अगाडि बढाउने जिम्मेवारी सांसद नैनकला थापाले पाउनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जिम्मेवारी सांसद छविलाल विश्वकर्माले पाउनुभएको छ । पूर्वाधार विकास समितिमा रहेका विधेयकलाई पास गर्नेगरी अगाडि बढाउने जिम्मेवारी सांसद गोकर्ण विष्टले पाउनुभएको छ ।

गुठी विधेयक चाँडो ल्याउन सरकारलाई निर्देशन

संसदीय समितिले गुठी विधेयक छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गुठी समस्याबारे छलफल गरेपछि राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई छिटो विधेयक ल्याउन निर्देशन दिएको हो । बैठकमा उपस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको जानकारी दिँदै भन्नुभयो, ‘समस्या धेरै पहिले देखिकै हो । सरकारको अहिलेको प्राथमिकता गुठीको पुँजी कति छ भन्ने खोज्नेछ । यसकारण हामी देशभरकै गुठीको जग्गा खोज्दै छौँ । दैलेखमा मात्रै सात हजार रोपनी जग्गा एउटै गुठीअन्तर्गत रहेको पाइएको छ ।’ समिति सभापति सोनाम गेल्जेन शेर्पाले जतिसक्दो छिटो गुठी विधेयक ल्याउन निर्देशन दिँदै भन्नुभयो, ‘समस्या छ समाधान गर्न जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिने ।’ जसलाई समितिले अनुमोदन गरेको छ ।

पुसभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने

पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने भएको छ । यसको काम अन्तिम चरणमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार विगतमा अदालतमा मुद्दा परेकाले समय लागेको थियो । आफूले मन्त्रीको जिम्मेवारी पाएलगत्तै आयोगको काम अघि बढाइएको जिकिर गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘केन्द्रमा राष्ट्रिय भूमि आयोग बनिसकेको छ । सबै जिल्लामा पुसभित्र बनिसक्छ । आफुले मन्त्रीको जिम्मेवारी पाएलगत्तै आयोगको काम अघि बढाएको थिए । तर, अदालतमा मुद्दा पर्‍यो । मुद्दा फिर्ता लिएर अगाडि बढ्दा बढ्दै चार महिना बित्यो । अब कुनै समस्या छैन ।’

पूर्वाधार विकास समितिमा २२ उजुरी

हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ । हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्न प्रतिनिधि सभाको पूर्वाधार तथा विकास समितिले शक्ति बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरेको हो । समितिका सदस्यहरू आवश्यकताका आधारमा सबै दलको प्रतिनिधित्व रहने गरी संयोजकले समन्वय गरेर राख्ने समिति सभापति दीपक सिंहले जानकारी दिनुभयो । पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग जोडिएका आयोजनाहरूको विषयमा २२ वटा उजुरी परेका छन् । समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत आठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय तीन, खानेपानी मन्त्रालय दुई, सहरी विकास मन्त्रालय चार, रक्षा मन्त्रालय एक र अन्य चार गरी २२ उजुरी परेको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिनुभयो । समितिमा कतिपय उजुरीहरू दोहोरो वा तेहेरो रूपमा पनि परेको उहाँको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका उजुरी तथा सडक मापदण्डका विषयमा अध्ययनको लागि पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा अर्को उपसमिति गठन गरिएको छ । सभापति सिंहले भन्नुभयो, ‘सबै उजुरी विषयमा समितिमा छलफल गरी विभिन्न खालका निर्णयहरू गरेका छौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् ग्रिडको लागि पोल राख्ने काम गरिरहेको छ । त्यसको प्रशारण लाइनको मुनि जग्गा पर्ने जग्गा धनीलाई मुआब्जा दिने भनिएको थियो । त्यसमा अव्यावहारिकता जस्तो देखिएको छ ।’

प्रतिनिधि सभाका सचिव राईले गरे शपथग्रहण

प्रतिनिधि सभाको सचिवमा नियुक्त हर्कराज राईले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार सचिव नियुक्त राईलाई बुधबार सभामुख देवराज घिमिरेले शपथग्रहण गराउनुभएको हो । शपथग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगरको पनि सहभागिता थियो । सभामुख घिमिरेले गत आइतबार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सचिव नियुक्तिका लागि राईको नाम सिफारिश गर्नुभएको थियो । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । हिमालय टाइम्स 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार