बुटवल । सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो ।
अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । रवि लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ ।
प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।
यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो ।
अभियोग पत्रमा छ :
गृहमन्त्रीबाट हटेपछि मात्र लामिछाने अनुसन्धानको दायरामा तानिएका हुन् । लामिछाने लगायतविरुद्ध ४४ जनाले गत असोज ५ मा पूरक जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पूरक जाहेरी परेकाले कात्तिक २ मा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेकै बेला लामिछानेलाई रूपन्देही लगेर सुप्रिम सहकारी ठगीका विषयमा बयान लिइएको थियो ।
लामिछानेले बयानमा गोर्खा मिडिया नेटवर्कको कार्यकारी हैसियतमा रहेको स्वीकार गरेकाले सहकारी ऐन २०७४ विपरीत गोर्खा मिडियामा गएको रकम सम्बन्धमा जिम्मेवार हुनुपर्ने अभियोगमा उल्लेख छ । ‘सहकारीबाट अपचलन भई गोर्खा मिडिया नेटवर्कमा गएको १ करोड ९६ लाखसहित १० करोड ९९ लाख ३६ हजार सामूहिक दायित्व लामिछानेले लिनुपर्ने देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ ।
लामिछानेमाथि १३ वर्षसम्म कैद सजायसमेत माग गरिएको छ । ‘सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा १ को खण्ड घ को देहाय ५ बमोजिम ६ देखि ८ वर्ष कैद र संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को क र ग बमोजिम थप ५ वर्ष कैद सजाय हुनुपर्ने,’ अभियोगपत्रमा उल्लेख छ ।
गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग ५१ करोड १ लाख ८३ हजार रुपैयाँ र तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग ६ करोड ७९ लाख ३६ हजार बिगो दाबी गरिएको छ । सहकारी रकम ठगी र अपचलनसम्बन्धी मुद्दामा लामिछाने, जोशीसहित १४ जनालाई पूरक अभियोजन लगाइएको छ । पूरक अभियोजनमा अन्य ८ जनामाथि थप अभियोग लगाइएको छ । सुरु मुद्दाका ४२ जनामध्ये १७ जनालाई पनि कसुर र बिगो थप गरिएको छ ।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको जानकारी दिए ।
‘पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ,’ उनले भने, ‘तीमध्ये पूरक अभियोगमा रवि, छवि र लक्ष्मीप्रसाद पौडेलसहित १४ जना नयाँ र बाँकी ८ जना सुरु प्रतिवादीमध्येकालाई थप कसुरसहित बिगो माग गरिएको छ ।’ सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ ।
सरकारी वकिलको कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबारै अदालत लगेको थियो । लामिछानेसहितको पूरक अभियोजन आइतबार मात्र अदालत पठाएको हो । थप अभियोगको फाइल बिहीबारदेखि आइतबारसम्म रुजु गरेको अदालतले पूरक अभियोजन फाइल भने तीन घण्टामै रुजु गरेर दर्ता गरेको हो । यसअघि अदालतले सुरु मुद्दाको फाइल सर्वोच्चबाट फिर्ता आउन ढिलाइ भएको र त्यससँग रुजु गर्न नपाएको भन्दै मुद्दा दर्ता गरेका थिएन ।
सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानले देखाएको छ । आइतबार मुद्दा दर्ता भएकाले लामिछाने सोमबार अदालतमा उपस्थित हुने तयारीमा रहेको रास्वपा स्रोतको भनाइ छ । उनले आफ्नातर्फको कानुन व्यवसायीको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपानेलाई खटाएका छन् । लामिछाने सोमबार बिहान जहाजबाट भैरहवा आउने तयारीमा रहेको पनि रास्वपाका एक नेताले बताए । आजको कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया