असार २८, २०८२ शनिबार July 12, 2025

धवलागिरि अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना भाइरसको संक्रमण फैलिएसँगै धवलागिरि अस्पताल बागलुङमा आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत थप दुई स्वास्थ्यकर्मीलाई सोमवार कोरोना संक्रमण देखिएपछि मंगलवार विज्ञप्ति प्रकाशित गरेर अस्पतालले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएको हो ।

सोमवार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा अस्पतालका ३९ वर्षीय पुरुष र २२ वर्षीया महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले संक्रमित स्वास्थ्यकर्मीहरू अस्पतालका प्यारामेडिक्स र स्टाफ नर्स रहेको बताको छ ।

साउन २० गते धवलागिरि बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका र अस्पतालमा कार्यरत ३२ जना डाक्टर र कर्मचारीको पीसीआर परीक्षण गर्दा एक स्वास्थ्यकर्मी र अस्पतालकै आइसोलेसनमा कार्यरत स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको अस्पतालका निमित्त प्रमुख मेडिकल डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार सोमवार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नमूना संकलन गरी कोभिड–१९ परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । यसअघि साउन २० गते स्वास्थ्यकर्मीलाई भाइरस संक्रमण देखिएपछि ओपीडी सेवा बन्द गरिएको थियो ।

अति आवश्यक नभई अस्पतालमा नआउन डा. पोखरेलले अनुरोध गरेका छन् । सोमवार संक्रमण पुष्टि भएका दुईजना स्वास्थ्यकर्मीलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । बागलुङमा यसअघि आइसोलेसनमा कायरत एक महिला स्वास्थ्यकर्मी र जैमिनी नगरपालिकाका एकजना पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । जैमिनी नगरपालिकाका पुरुष स्वास्थ्यकर्मी निको भएर घर फर्किसकेका छन् भने महिला स्वास्थ्यकर्मी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया