काठमाडौँ, ११ वैशाखः जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्मालाई नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह त्याग्नुभयो । तर त्यो निर्णय उचित थिएन कि भन्ने लागेको छ । बिरामीको सेवा लाग्नुपर्ने उहाँ अहिले तीन हप्तादेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिएर बसिराख्नुभएको छ ।
उहाँसँगै सोही कलेजमा आवासीय चिकित्सकको रुपमा कार्यरत डा निशा थापा पनि उहाँसँग हुनुहुन्छ । टण्टलापुर घाममा उहाँहरुजस्तै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ताको माग गर्दै २२ दिनदेखि आन्दोलनरत छन् ।
चिकित्सक शर्मा भन्नुहुन्छ, “आफूलाई चिकित्सक भनेर के गर्नु ? अहिलेसम्म मासिक रुपमा बुवाआमासित पैसा माग्नु परिरहेको छ । आमबुझाइमा चिकित्सकले धेरै पैसा कमाउँछ भनेर सोचिन्छ । तर पैसा हामीले होइन अस्पताल सञ्चालकले कमाउँछन् । न्यूनतम पारिश्रमिक दिइएको छैन ।” हाल उहाँ कार्यरत अस्पतालले आवसीय चिकित्सकलाई मासिक रु १९ हजार दिइरहेको छ ।
“सोही तहमा सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको रु ४८ हजार पाइरहनुभएको छ, हामीले रु १९ हजारले के गर्ने ? कोठा भाडा तिर्न र कलेजको खर्चमै जान्छ । त्यति पनि पुग्दैन । डेन्टल विधामा हामीले आफ्नो अभ्यासकालागि सामान समेत आफै किन्नुपर्छ । जसका लागि महिनाकै २२ देखि २५ हजार जान्छ । हामी कसरी बाँचिरहेका छौँ । अबको दुई तीन वर्षमा चिकित्सकहरु नै बस्दैनन् होला”, उहाँले प्रश्न गर्नुभयो । डा थापा देशको अवस्थाले गर्दा काम गर्न मनोबल नै घटेको प्रतिक्रिया दिनुभयो ।
लुम्बिनी मेडिकल कलेज, पाल्पामा कार्यरत आवासीय अर्थोपेडिक चिकित्सक डा कुन्दन सिंहको समस्या पनि त्यस्तै छ । हप्तामा १३६ घण्टा काम र तलब जम्मा रु १९ हजार आठ सय निकै कम भएको उहाँको भनाइ छ ।
डा सिंह भन्नुहुन्छ, “हामीले रहरले सडकमा आएका होइनौँ । सरकारीमा त्यही तहका चिकित्सक त्यही ड्युटी तर हामीलाई सेवा सुविधामा भने त्यति कम ? निर्णय कार्यान्वयन हुन्छ भनेर बोलीमा आश्वसान पटक पटक पाएका छौँ ।”
कतिपय आवासीय चिकित्सक भने आफूहरुलाई आन्दोलनमा गएकै कारण डर धम्की प्राप्त गरेको सुनाउनुभयो । “जति डर धम्की आए पनि हाम्रो खातामा पैसा नआइकन हामी काममा फर्किदैनौँ । आन्दोलन जारी रहन्छ”, एक चिकित्सकले भन्नुभयो ।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णयले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निर्देशन दिएको थियो तर निजी मेडिकल कलेजहरुले निर्णय कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन् ।
चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी) अध्ययन गर्ने आवसीय चिकित्सकलाई मासिक रु ४८ हजार निर्वाह भत्ता दिने आयोगले निर्णय गरेको थियो । आयोगको १६औँ बैठकले गरेको उक्त निर्णय दुई महिना बितिसक्दा पनि निजी मेडिकल कलेजले त्यो निर्णय मान्न अटेरी गरिरहेका छन् ।
हाल देशभरका करिब दुई हजार ५०० आवासीय चिकित्सकहरु आन्दोलित छन् । उनीहरुले सेतो एप्रोनमा दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । आजबाट नेपाल चिकित्सक सङ्घले पनि आवासीय चिकित्सकहरुको आन्दोलनमा सहकार्य गर्ने निर्णय गरेको छ ।
उनीहरुले सम्पूर्ण निजी मेडिकल कलेजका एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकहरुको मासिक पारिश्रमिक (सरकारी आठौं तह सरह) हुनुपर्ने माग गरिरहेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया