असार २०, २०८२ शुक्रबार July 4, 2025

भैरहवा विमानस्थल सञ्चालनमा चौतर्फी चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १९ गते । परियोजना र जग्गाको मुआब्जामा गरी झन्डै ३२ अर्ब रुपियाँ खर्च गरेर स्तरोन्नति भएको भैरहवा विमानस्थल सञ्चालनमा समस्या रहेको निष्कर्ष संसदीय छानबिनले देखाएको छ । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमानस्थल सञ्चालनमा व्यावसायिक कार्ययोजनासँगै प्राविधिक समस्या रहेको औँल्याएको हो । जग्गा मुआब्जालगायतमा ठुलो लगानी गर्दा विमानस्थल स्तरोन्नतिका क्रममा प्राविधिक पक्षलाई भने गौण ठानिएको पाइएको हो ।

२०८१ जेठ २७ गते नेकपा (एमाले) का सांसद योगेश भट्टराईको संयोजकत्वमा उपसमिति गठन भएको थियो । उपसमितिले स्थलगत अध्ययनलगायतका सम्पूर्ण काम सकेपछि भट्टराई उपसमितिमा बस्न नहुने माग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उठाउनुभएको थियो । झा पनि सोही उपसमितिमा सदस्य हुनुहुन्थ्यो । अध्ययनका काम सकिएपछि प्रश्न उठेसँगै भट्टराईले उपसमिति छाडेको घोषणा गर्नुभएको थियो तर त्यसबेलासम्म प्रारम्भिक प्रतिवेदन तयार भइसकेको थियो ।

ठुलो रकम खर्चेर बनाइएको विमानस्थल आवश्यक प्राविधिक उपकरण तथा उपयुक्त व्यावसायिक योजना अभावमा सञ्चालन कठिनाइ रहेको निष्कर्ष उपसमितिको छ । विमानस्थल निर्माणको जग्गा अधिग्रहणका लागि २३ अर्ब रुपियाँ खर्च भएको थियो । सात सयभन्दा बढी बिघा जग्गा अधिग्रहण भएको थियो । पछिल्लो समय अधिग्रहणको निर्णय भएको २८८ बिघामध्ये केही हक हस्तान्तरण बाँकी छ । विमानस्थल स्तरोन्नतिमा भने आठ अर्ब ८२ करोड रुपियाँ खर्च भएको थियो ।

स्तरोन्नतिपछि २०७९ वैशाख १५ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजले डेमोस्ट्रेसन फ्लाइट गरेको थियो । त्यसपछि केही विदेशी वायु सेवा कम्पनीले पनि उठान गरेका थिए । कतार, जजिरा, एयर एसियालगायतले उडान गरे पनि यात्रु नपाएको भन्दै छोटो समयमा नै उडान बन्द गरेका थिए । उपसमितिले सरकारले विदेशी विमान कम्पनीका लागि आवश्यक छुटलगायत प्रोत्साहनमा निर्णय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

उपसमितिले के देख्यो समस्या

अध्ययन उपसमितिले विमानस्थल सञ्चालनमा व्यावसायिक योजनासँगै प्राविधिक कमजोरी पनि विश्लेषण गरेको छ ।

प्रतिवेदनमा विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा आधारित बनाई सहज उडान तथा अवतरण गर्ने गरी विश्वास निर्माण गर्न धावनमार्ग, कार्गो बिल्डिङलगायतका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सुझाव दिएको छ । यस्तै एयर रुटको व्यवस्थापनको पहल लिन पनि उपसमितिको सुझाव छ । महेन्द्रनगर तथा नेपालगन्ज रुटका लागि तत्काल कूटनीतिक पहल आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

विमान मर्मत, वैदेशिक रोजगारीमा जाने यात्रु तथा पर्यटकीय यात्रुसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाको एकीकृत रूपमा भैरहवाबाट सञ्चालन सुनिश्चित गर्न पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै निजी क्षेत्रका बस, ट्याक्सी व्यवसायी, होटेल व्यवसायी, उद्योगी व्यवसायीलगायतका सङ्घ संस्थालाई प्रभावकारी समन्वयमार्फत सेवा सञ्चालनको वातावरण बनाउन आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीलाई पार्किङ, नेभिगेसन, इन्धनलगायतमा छुटको व्यवस्था नहुँदा उडान महँगो भएको उपसमितिको निष्कर्ष छ । सरकारले नियमित उडान प्रवर्धनका लागि छुटको व्यवस्था गर्नुपर्ने पनि प्रतिवेदनमा औँल्याइएको छ । कम भिजिबिलिटीमा उडान अवतरण गर्न सक्ने उपकरण सञ्चालनमा ल्याउन नसकिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको अन्तर्वार्ता तथा छनोट, मेडिकल जाँच, श्रम स्वीकृति तथा भिसासम्बन्धी सम्पूर्ण कार्य लुम्बिनी प्रदेशभित्रै हुने व्यवस्था गर्न नसक्दा पनि विमानस्थल सञ्चालनमै समस्या रहेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा उडान भर्ने वायु सेवा कम्पनीले भैरहवा विमानस्थलमा शाखा विस्तार गर्ने पहल नगरेको, त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीले निश्चित उडान भैरहवाबाट अनिवार्य गर्नुपर्नेमा पनि उपसमितिको सुझाव छ ।

विमान मर्मतसम्भारलगायतका सेवा विस्तारमा पनि उपसमितिले सुझाव दिएको छ । विमानस्थल क्षेत्रभित्र पर्यटक सेवा केन्द्र तथा पर्यटक सूचना केन्द्रको स्थापन गर्न पनि उपसमितिले सुझाव दिएको छ । गोरखापत्र

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार