काठमाण्डाैंः पोखरामा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कास्कीमा कुल संक्रमितको संख्या २ सय १८ पुगेको छ । प्रदेशमा कुल १ हजार ७ सय १८ पुगेका छन् ।
एकपछि अर्को संक्रमित देखिँदै गएपछि पोखरा लगायत संक्रमण देखिएका स्थानमा उच्च स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरामा गएको २४ घण्टामा भएको नमुना परीक्षणमा १५ जना संक्रमित फेला परेका हुन् । तीमध्ये पोखराका मात्रै १० जना छन् । तनहुँका ४ जना हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा पोखरा वडा ८ का ५१ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा ३२ की ८६ वर्षीया वृद्धा, वडा २६ का ५३ वर्षीय पुरुष र वडा २८ का ३८ वर्षीय पुरुषमा कोभिड-१९ संक्रमण देखा परेको छ । तनहुँ सदरमुकाम व्यास नगरपालिका वडा १ का ९ वर्षीय बालक र ४० वर्षीय पुरुष छन् भने वर्ष १३ की बालिका र ३६ वर्षीया महिला पनि कोरोना संक्रमित बनेका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा पोखराका ५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले बिहान विज्ञप्ति जारी गरी पुष्टि गरेको थियो ।
पोखरा वडा १६ मा २२ र ३० वर्षीय पुरुष तथा २२ र ५० वर्षीया महिला संक्रमित बनेका हुन् । पोखरा वडा ५ की ३३ वर्षीया महिलामा पनि कोभिड–१९ पुष्टि भएको हो । तनहुँको भानु नगरपालिका वडा ४ का ३० वर्षीय पुरुष छन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकीमा शनिबार २१ जनामा कोरोना संक्रमण देखा परेको थियो । गण्डकीमा कुल संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये करिब ९० प्रतिशत अर्थात् १ हजार ५ सय २० जना निको भइ घर फर्केका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया