असार २०, २०८२ शुक्रबार July 4, 2025

ई रिक्साले घटायो बिदेसिने रहर

वैदेशिक रोजगारीबाट फर्किएका या वैदेशिक रोजगारीमा नगएका युवा, वयस्कदेखि वृद्धसम्मका लागि सडक विस्तार गर्जो टार्ने आधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तीन वर्ष वैदेशिक रोजगारी गरेर फर्किनुभएका शिवचन्द्र मण्डल आफैँ साहु र चालक बन्नुभएको छ । एक वर्षअघि विदेशबाट फर्किनुभएका मण्डलले वैदेशिक रोजगारीका लागि फेरि मलेसिया जाने योजना बनाउनुभएको थियो तर उहाँको यो योजनालाई पक्की सडकले रोकेको छ ।

पछिल्लो समय मुख्य सहरसँग पक्की सडक सञ्जाल विस्तार भएपछि धेरै युवालाई स्वरोजगारीको बाटो खुलेको छ । ती सडक कमाइको अवसरका रूपमा प्रयोग भइरहेको छ । स्वरोजगारीको अवसर चिनेर प्रयोग गर्न थालेका शिवचन्द्र जस्तै धेरै युवाको घरखर्च यिनै सडकबाट चलिरहेको छ ।

सामान्य पढलेख गरेका तर घरपरिवारको जिम्मेवारी थपिएपछि दैनिक मजदुरी गरी खान लजाउने, गाह्रो काम गर्न नसक्ने, रोजगारीको अवसर नपाउने जस्ता अनेक कारणले युवा बिदेसिने गरेका छन् तर गाउँसहरमा सडक सञ्जाल विस्तारले त्यस्ता युवालाई स्वरोजगारी मात्र दिएको छैन, उनीहरूको मानसम्मान, प्रतिष्ठा पनि बढाएको अनुभूत गराएको छ । यो काम ई रिक्साले गरेको छ ।

२७ वर्षीय शिवचन्द्र जस्तै २८ वर्षीय भोला सहनी पनि वैदेशिक रोजगारीमा जानबाट रोकिनुभएको छ । फ्री भिसा, फ्री टिकट भने पनि विदेश जानका लागि कम्तीमा डेढ/दुई लाख रुपियाँ नगद खर्च गर्नु पर्छ । ऋण काढेर विदेश गएपछि त्यहाँ भने अनुसारको काम नपाउने, एजेन्टबाट ठगिने, राम्रो कमाइ नहुने, ऋणको सावाँब्याज बुझाउन नसकिने, पतिपत्नी, बालबच्चा, घरपरिवारमा प्रतिकूल असर पर्ने जस्ता समस्याले वैदेशिक रोजगारीभन्दा स्वदेशमै रोजगारी खोजिने गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका या वैदेशिक रोजगारीमा नगएका युवा, वयस्कदेखि वृद्धसम्मका लागि सडक विस्तार गर्जो टार्ने आधार बनेको छ ।

सम्मानजनक आत्मसन्तुष्टिको पेसा/व्यवसाय मानेर उहाँहरू ई रिक्सा किनेर चलाइरहनुभएको छ । “सहर बजारमा पक्की सडक निर्माण र विस्तारले ई रिक्सा गुडाउन सहज र सरल मात्र भएको छैन, यात्रुलाई सजिलो तथा अरामदायी पनि भएको छ,” ६५ वर्षीय रिक्सासाहु चालक रामसेवक खंगले भन्नुभयो । मधेशका मुख्य सहरहरू जनकपुरधाम, लहान, राजबिराज, बर्दीबास, मलङ्गवा, वीरगन्ज बजार क्षेत्रमा पक्की सडकको विस्तारले ई रिक्सा अत्यधिक सञ्चालन भइरहेको छ । सहरहरूमा ई रिक्साको सङ्ख्या बढेका कारण पार्किङ व्यवस्थापनमा पनि समस्या भइरहेको ट्राफिक प्रहरी निरीक्षक रामबालक रायले बताउनुभयो ।

घट्दै बिदेसिनेको सङ्ख्या

मधेश प्रदेशबाट रोजगारीका लागि विदेश जानेको सङ्ख्या धेरै छ । आठ जिल्ला र १३६ पालिका रहेको मधेश प्रदेशको सबभन्दा बढी युवा धनुषाको सबैला नगरपालिकाबाट बिदेसिने गरेको एक तथ्याङ्कले देखाएको छ तर स्वदेशमै ई रिक्सा जस्तै अन्य स्वरोजगारीले बिदेसिने युवाको सङ्ख्या क्रमिक रूपमा घट्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशका आठ वटै जिल्लाका एक लाख ७२ हजार ८६१ जना वैदेशिक रोजगारीमा गएका छन् । जुन अघिल्लो वर्षमा बिदेसिने युवाको सङ्ख्याभन्दा सात हजार ७९८ कम हो । श्रम तथा रोजगार कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशबाट कुल एक लाख ८० हजार ६५९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या कुल सङ्ख्याको २३.४२ प्रतिशत छ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै मधेश प्रदेशबाट खाडीलगायत विभिन्न देशमा छ लाख ३० हजार रोजगारीका लागि गएका थिए भने आव २०७७÷७८ मा एक लाख ६६ हजार जना वैदेशिक रोजगारीका लागि गएको तथ्याङ्कले देखाएको छ । आजको गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार