काठमाडौं । नक्सालस्थित बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा घोटाला गरेको आरोपमा बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय मुद्दा चलाउन नपर्ने सिफारिस गरेको कारण लामो समयसम्म यो प्रकरणको मुद्दा दर्ता हुन सकेको थिएन । तर मंगलवार महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेपछि बुधबार सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
कार्यालयले उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल संगठनका तत्कालिन अध्यक्ष ७१ वर्षीया रिता सिंह वैद्य, संगठनका तत्कालीन उपाध्यक्ष ६६ वर्षीय तुलसी नारायण श्रेष्ठ, महासचिव ७० वर्षीय गणेश भक्त श्रेष्छ, सदस्य ५३ वर्षीय कृष्ण शंकर साह, संगठनका अख्तियार प्राप्त महासचिव ७५ वर्षीय श्यामकुमार आले, अख्तियार प्राप्त महासचिव ५४ वर्षीय सुवास कुमार पोखरेल, संगठनका तत्कालीन महासचिव ६२ वर्षीय प्रचण्डराज प्रधान, तत्कालीन महासचिव ६९ वर्षीय रामकाजी गुरुङ कोने, तत्कालीन उपाध्यक्ष ६८ वर्षीय योगेन्द्रबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ ।
त्यसै गरी संगठनका तत्कालीन उपकोषाध्यक्ष ७२ वर्षीय दीपकदास श्रेष्ठ, बृहस्पति विद्यासदनका सञ्चालक ५० वर्षीय प्रवीणराज जोशी, बृहस्पती विद्यासदनका तत्कालीन सञ्चालक ७२ वर्षीय मुरारीनिधि तिवारी, बृहस्पति विद्यासदनका अध्यक्ष ८२ वर्षीय पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, विद्यासदनका सञ्चालक ४४ वर्षीय अभिनव सिंघानिया, सञ्चालक ४४ वर्षकै सिद्धार्थ केडिया, र विद्यासदनका सञ्चालक ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेयविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
प्रतिवादी बनाइएकामध्ये १५ जनालाई यसअघि सीआईबी र सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर सोधपुछ गरी बयान लिइएको थियो । उनीहरूलाई अनुपस्थित प्रतिवादी भन्दै मुद्दा दायर गरिएको छ । तर यो प्रकरणको मुख्य व्यक्ति रिता सिंह वैद्य र योगेन्द्रबहादुर शाहीलाई भने सामान्य सोधपुछ समेत नगरी अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई वृद्ध र रोगी भएका कारण पक्राउ नगरिएको बताइए पनि मुद्दा दर्ता गर्दा भने बयान नलिई ती दुई जनालाई फरार प्रतिवादी बनाइएको छ ।
नक्सालस्थित नेपाल बाल संगठनको नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो ।
२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउनेगरी सम्झौता भएको थियो । पछिल्लो सम्झौता अनुसार वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न २८ रोपनीभन्दा बढी जग्गाको भाडा प्रतिरोपनी ३ लाख ९३ हजार रुपियाँका दरले वार्षिक १ करोड १० लाख रुपियाँ लिने गरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाछ पुरुषोत्तमराज जोशीले सम्झौता गर्नुभएको थियो ।
चलनचल्तीको भाडाभन्दा कम दरमा भाडामा लिनेदिने सम्झौता गरेर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट परेको उजुरीमा सीआईबीले अनुसन्धान गरी २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको थियो । तीमध्ये तीन जनाको मृत्यु भइसेको भन्दै उनीहरुलाई भने प्रतिवादी बनाइएको छैन ।
मृत्यु भएका कारण वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (वृहस्पति विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, बाल संगठनर्क तत्कालीन उपमहासचिव सुमन शाक्यविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ ।
उनीहरूबाहेक १७ जनाविरुद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपियाँ बिगो मागदाबी गर्दै ठगीको कसुरमा मुद्दा दायर भएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसारको ठगी कसुरमा मुद्दा दायर भएकोले कसुरदार ठहरिएमा ७ वर्षसम्म कैद हुनसक्ने देखिन्छ । नेपाल समाचारपत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया