असार २०, २०८२ शुक्रबार July 4, 2025

माओवादीको खुट्टा सडकमा, नजर सत्तातिर

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राजनीतिक नियुक्तिमा समझदारी बनेपछि सरकार ढल्ने हल्ला पनि सेलाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान चलिरहेकै बेला अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नयाँ गठबन्धन बनाउन तयार भए निःशर्त समर्थन गर्ने बताए । उनको यो भनाइले नेपालको राजनीतिमा तरङ्ग ल्याए पनि शान्त हुन धेरै समय लागेन।

कांग्रेस-एमालेबीच नेपाल राष्ट्र बैंकको गभर्नरलगायत राजनीतिक नियुक्तिमा भएका खटपटलाई आधार मानेर दाहालले अनौपचारिक रुपमा नयाँ गठबन्धनको कार्ड फालेका थिए । तर त्यसले सरकार ढल्ने होइन, सत्ता गठबन्धनभित्रका संशय मेटाउने काम गर्‍यो।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राजनीतिक नियुक्तिमा समझदारी बनेपछि सरकार ढल्ने हल्ला पनि सेलाउँदै गयो । कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच चैत दोस्रो साता भएको अनौपचारिक संवाद दाहालको बोली फेर्ने आधार बनेको थियो ।

खुमलटार स्रोतका अनुसार देउवा र दाहालबीच त्यस बेला दुई पटक संवाद भएको थियो । ‘प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण लामो समय सँगै जान गाह्रो हुने’ देउवाले दाहालसँग बताएपछि सरकार संकटमा पार्न लागेको आशंका गरिएको थियो । तर त्यो आशंका मेटाउन ओली आफैँ अघि सरेर देउवासँग छलफल गरे।

फागुन दोस्रो साता झापाबाट तराई मधेस केन्द्रित अभियान चितवनसम्म आई पुग्दा दाहाल ०८४ सम्म प्रतिपक्षमा रहेर जनतासँग अभियान चलाउने बताउँदै आएका थिए । तर देउवासँग संवाद भए पछि उनले कांग्रेस नयाँ गठबन्धन बनाउन तयार भए निःशर्त समर्थन गर्न तयार रहेको एक टेलिभिजन अन्तर्वार्तामार्फत् सार्वजनिक गरे ।

उनको यो भनाइले एमाले सशंकित मात्र भएन, प्रधानमन्त्री ओलीले देउवासँग उत्पन्न आशंका मेटाउन लामो छलफल गरे । माओवादी फागुन १२ मा झापाबाट सुरु गरेको तराई मधेस जागरण अभियान वैशाख १८ मा कन्चनपुर समापन गर्दासम्म माओवादीमा सत्ता मोह अंकुरण भइसकेको थियो ।

Maoist's feet on the road, eyes on powerत्यो सत्ता मोह अंकुरण हुनुमा कांग्रेस-एमालेबीच राजनीतिक नियुक्तिमा देखिएको समस्या थियो । ओलीको कार्यशैलीगत असन्तुष्टि थियो । कांग्रेस-एमालेबीच देखिएको संशय मेटिएपछि माओवादीले जेठ २ देखि मध्य पहाडी राजमार्ग केन्द्रित अर्को राजनीतिक अभियान सुरु गर्ने निर्णय गरिसकेको छ ।

यो अवधिमा अध्यक्ष दाहालसहित उपमहासचिव वर्षमान पुन लगायत नेताहरूको भनाइले प्रतिपक्षको रूपमा सडकमा खुट्टा भए पनि माओवादीको ध्यान सत्तातिरै भएको देखिन्छ। उपमहासचिव शक्ति बस्नेत भने राजनीतिक परिस्थिति त्यही अनुसार विकास भइरहेकाले सरकार ढल्ने संभावना रहेको औँल्याउँछन् ।

‘गठबन्धनभित्र धेरै समस्या छन् । ती समस्याका कारण सरकार लामो समय जाँदैन भन्ने विश्लेषण भइरहेको हो,’ माओवादीको सत्तातिर नजर किन त ? भन्ने प्रश्नमा बस्नेत भन्छन्, ‘हामी सत्तामा जानका लागि सरकार ढल्छ भनेका होइनौँ । सरकार ढल्ने अवस्थामा के गर्ने भन्ने छलफलको विषयचाँहि अवश्य हो ।’

ओली सरकार नयाँ वर्ष सुरु भएपछि ढल्ने दाबी गर्दै आएका माओवादी अध्यक्ष दाहाल अब भने सरकार परिवर्तन गर्ने जादु नचलाउने बताउँछन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो दलको ध्यान सत्तातिर नभएको दाबी गरे।

उनले पार्टीले छिट्टै मध्यपहाडी लोकमार्ग अभियानतर्फ सुरु गर्ने उल्लेख गर्दै सत्तातिर ध्यान नभएको दाबी गरे । उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने हो । र हामी मध्यपहाडी लोकमार्ग अभियानतर्फ गइरहेका छौँ। जादु चलाउन चाहे त चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौं ।’

दाहालले कहिले के भने ?

वैशाख १८ पार्टीनिकट ट्रेड युनियनको कार्यक्रममा काठमाडौंमा कांग्रेससित मिलेर सरकार बनाउने सक्ने आफ्नै अभिव्यक्तिलाई काट्ने गरी आन्दोलनमा जान सकिने बताए । ‘तपाईंहरू आन्दोलनको तयारीमा लाग्नुस् । हामी छिट्टै ठुलै आन्दोलनमा जानुपर्ने हुन सक्छ,’ उनको भनाइ थियो, ‘कांग्रेस, एमालेसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौँ ।’

त्यस्तै, वैशाख ९ मा पार्टी केन्द्रीय कार्यालयमा भएको नेकपा स्थापना दिवस विशेष कार्यक्रममा अध्यक्ष दाहालले सरकार आफ्नै कारणले ढल्ने बताएका थिए। ‘कांग्रेस–एमाले गठबन्धन र ओली नेतृत्वको सरकार अप्राकृतिक र असंवैधानिक भएकाले आफ्नै कारणले ढल्छ,’ उनले भनेका थिए, ‘सरकारले जनताका लागि काम गर्ने भन्दा भ्रष्टहरूलाई संरक्षण गरिरहेको छ ।’

Maoist's feet on the road, eyes on powerत्यसअघि वैशाख ४ मा हुलाकी राजमार्ग केन्द्रित अभियानमा रुपन्देहीमा उनले माओवादी सरकारमा गएर गल्ती नगर्ने बताएका थिए। २०८४ सम्म सरकारमा नजाने उल्लेख गर्दै फेरि सरकारमा गएर त्रुटि नगर्ने बताएका थिए , राजनीतिमा अभियानले माओवादीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले आफ्नो सत्तातिर ध्यान नभएको बताए ।

‘अहिले आम जनताले फेरि एक चोटि भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौँ हजारको संख्या देख्यौँ,’ उनले भने, ‘हामीलाई थप जिम्मेवारी बोध भएको छ । ०८४ सम्म सरकारमा नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बिल्कुल होइन ।’

सुशासनका लागि सम्झौता नगरेका कारण आफ्नो सरकार ढलेको उनले तर्क गरे । वैशाख ५ मा कपिलवस्तुमा उनले ओली सरकार आफ्नै बोझ थाम्न नसकेर ढल्ने दाबी गरे । ‘आफ्नै बोझ थाम्न नसकेर सरकार ढल्छ,’ उनको दाबी थियो, ‘कांग्रेस–एमालेलाई माओवादीले बोक्दा उनीहरूलाई फाइदा भयो । अब हामी कसैलाई बोक्ने काम गरेर गल्ती गर्दैनौँ ।’

चैत ३१, २०८१ मा गृह जिल्ला चितवन पुगेको बेला उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरे । ‘परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यस कारण कुनै पनि सम्भावना छ ।’

त्यसअघि चैत २८ मा इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पनि दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताएका थिए । ‘अबको कोर्स भनेको नेपाली कांग्रेस र शान्ति सम्झौताका सहयात्रीहरू एक ठाउँमा आएर सहमति खोज्नु नै सबभन्दा राम्रो विकल्प हो । तत्कालको कुरा नेपाली कांग्रेसले विकल्प दिनुपर्छ । देशको संकटको स्थिति जस्तो देखा परेको छ । यसको निकास दिन सबभन्दा ठुलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ,’ उनको भनाइ थियो।

त्यसअघि गत माघ २४ मा प्रतिनिधिसभाकामा विशेष समय लिएर सम्बोधन गर्दै दाहालले सत्ताको खेलमा नलाग्ने बताएका थिए । ‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । हामी त जनतातिर फर्किसक्यौँ । हामी टिप्न हिड्दैनौं यो सरकार। तर यो कुहिएर झर्नेवाला छ,’ उनले भनेका थिए, ‘त्यसैले, अब हाम्रा डरले तपाईहरूले एक अर्काका कुर्सी मिलाउन पर्दैन । स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन ।’

दाहालले कांग्रेस एमाले गठबन्धन ०८४ सम्म जान शुभकामनासमेत दिएका थिए । माघ ४ मा संसद् भवन नयाँ बानेश्वरमा दाहालले सरकारको औचित्य गुम्दै गएको बताएका थिए । उनले सरकारको कामले झन् निराशा बढाएकाले यसले औचित्य गुमाउादै गएको दाबी गरेका थिए ।

‘सरकारका क्रियाकलापले आम निराशा र असन्तुष्टि बढ्दै गएको छ । सरकारको औचित्य गुम्दै गएको छ,’ उनको भनाइ थियो, ‘सरकार जुन तरिकाले बन्यो, अप्राकृतिक तरिकाले बनेको छ । अपारदर्शी तरिकाले बनेको छ । संविधानको मर्म र भावनाविपरीत बनेको छ । आजको कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार