राजविराज । अदालतको आदेश समेतको अवज्ञा गर्दै अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा संञ्चालन गर्ने विद्यालयको संख्या एक दर्जन भन्दा बढी पुगेको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइले केही दिन यता थालेको विद्यालय अनुगमनका क्रममा शुक्रबार सम्म अनुमति भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने विद्यालयको संख्या १६ पुगेको हो । यतिमात्र होईन । अनुमति लिदा बखत विद्यालय सञ्चालकले उल्लेख गरेको ठेगाना भन्दा फरक ठाउँमा विद्यालय सञ्चालन गरेको समेत पाईएको अनुगमन टोलीका नेतृत्वकर्ता जिल्ला शिक्षा विकास समन्वय ईकाइ सप्तरीका प्रमुख शशी कुमार यादवले बताए ।
१८ पालिका रहेको सप्तरीमा विगत दुई साता यता थालिएको अनुगमन शुक्रवार सम्म राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र विष्णुपुर गाउँपालिका गरि ४ पालिकामा सकिएको छ । अझै १४ पालिकामा अनुगमन गर्न बाँकी नै रहेकाले मापदण्ड विपरित सञ्चालनमा रहेका विद्यालयको संख्या ठूलै देखिने अनुमान गरिएको उनको भनाई छ ।
उच्च अदालत जनकपुर–राजविराज इजलासले गत बैशाख १९ गते अनुमति विनाको थप कक्षा सञ्चालन नगर्न–गराउन आदेश जारी गरेपछि त्यसलाई कार्यान्वय गराउन अनुगमन तिब्र बनाइएको उनले बताए ।
अनुगमनका क्रममा धेरैजसो निजी विद्यालयले अदालतको आदेशको पालना र शिक्षा ऐनले व्यवस्था गरेको मापदण्ड पुरा नगरेको पाइएकाले प्रहरी प्रशासन समेतको सहयोगमा कारवाही प्रक्रियामा जान लागेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने तथा मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका विद्यालय माथि कानुन बमोजिम कारवाही गरिने बताएका छन् ।
“पछिल्लो समय यस विषयमा अदालतको पनि आदेश आएको छ, उनले भने, आदेशको पालना नगर्ने त्यस्ता विद्यालयलाई कारवाही गर्न आवश्यक प्रक्रिया अगाडी बढाई सकेका छौं ।”
अनुगमन टोलीमा शिक्षा विकास समन्वय ईकाइका साथै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाको शिक्षा शाखा प्रमुख लगायतको सहभागिता रहेको छ ।राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया