असार २०, २०८२ शुक्रबार July 4, 2025

दीर्घकालीन समाधान खोज्दै सरकार

काठमाडौँ उपत्यकामा दर्ता भएका मोटरसाइकलको सङ्ख्या १५ लाख मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २६ गते । भनिन्छ, ‘कुनै देशको सार्वजनिक यातायात कस्तो छ भन्ने कुराको जवाफ ती देशका राजधानीमा कुद्ने मोटरसाइकलको सङ्ख्याले दिन्छ ।’ यातायात सुरक्षाविज्ञ र खोजकर्ताको अनुसन्धान अनुसार मोटरसाइकल धेरै चलाउने सहरमा सार्वजनिक यातायात व्यवस्थापनमा राज्य कमजोर रहेको पुष्टि हुन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँ उपत्यकामा दर्ता भएका मोटरसाइकलको सङ्ख्या १५ लाख छ । उहाँले दर्ता भएका दुई लाख मोटरसाइकल नचले पनि १३ लाखको हाराहारीमा चलाइरहेको बताउनुभयो ।

यातायात कार्यालयका अनुसार दर्ता गर्न आउने सवारीसाधनमा झन्डै ८० प्रतिशत सङ्ख्या मोटरसाइकलकै हुन्छ । सार्वजनिक यातायातको क्षेत्रमा निजी क्षेत्रबाट १३ खर्ब रुपियाँभन्दा बढी लगानी भइसक्दा पनि नागरिकको आधारभूत यातायातमा राज्यको भूमिका भने ज्यादै न्यून छ ।

छिमेकी भारतमै पनि सङ्घीय राजधानी दिल्लीसहित अन्य राज्यले पनि सरकारकै मातहतको निगममार्फत सहुलियतपूर्ण सार्वजनिक यातायात सञ्चालन गरेका छन् तर नेपालमा सार्वजनिक यातायात क्षेत्र पूर्णतः निजी क्षेत्रको एकाधिकारमा छ । त्यति मात्रै होइन, सार्वजनिक सवारीसाधनमाथि एकाधिकार (सिन्डिकेट) यति बलियो छ कि नेपाल यातायात व्यवसायी महासङ्घले ‘सिट्ठी फुकेकै भर’ मा देशभरि यातायात ठप्प पार्न सक्छ । व्यवसायीले निजी सवारीसाधन रोकेपछि साझा यातायातले केही बसमार्फत नागरिकलाई केही सहज बनाउने गरेको छ । यद्यपि यसले नागरिकले भोग्नु परेका समस्या समाधान गर्न सक्ने अवस्था छैन ।

२०७५ वैशाख ४ गते सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको थियो तर महासङ्घले सरकारलाई चुनौती दिँदै यही जेठ १९ गतेदेखि देशैभरि यातायात अवरुद्ध गरायो । जेठ २० गते सरकारसँग सहमतिपछि मात्रै सार्वजनिक यातायात नियमित चले । यातायात व्यवसायी जवाफदेही नहुँदा र राज्यको नियमनकारी निकाय प्रभावकारी नहुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य भए । महासङ्घका अध्यक्ष विजय स्वाँरले निजी क्षेत्रको लगानी प्रभावित हुने र सार्वजनिक यातायात सञ्चालकमाथि अन्याय हुने अवस्था आएकाले सवारीसाधन चलाउन नसकिएको दाबी गर्नुभयो ।

व्यवस्थित गर्ने सरकारको तयारी 

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले भोगेको सास्तीलाई सरकारले गम्भीर रूपमा लिँदै सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने तयारीमा सरकार जुटेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई जनमैत्री बनाउने, सिन्डिकेट र कार्टेलिङ हटाउने विषयमा विमर्श र अध्ययन सुरु गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यातायात व्यवसायीले सार्वजनिक सवारीसाधन अवरुद्ध गरेर गल्ती गरे । यसरी जानकारी नै नदिई बन्द गर्न पाइँदैन । सार्वजनिक यातायातलाई सुदृढ गर्न राज्यले महत्वपूर्ण निर्णय गर्ने र दीर्घकालीन समाधान खोज्ने गरी काम गर्ने विषयलाई दृष्टिगत गरेर छलफल अघि बढाएको छु ।”

उहाँले सार्वजनिक यातायातको अहिले उपलब्ध स्रोतसाधनलाई व्यवस्थापन र व्यवस्थित गर्ने, नियमन गर्ने र दीर्घकालीन समाधानबारे पनि निर्णयमा पुग्न विस्तृत अध्ययन हुने बताउनुभयो । राज्यकै मातहतको निगम वा निकायले सार्वजनिक यातायात सञ्चालन गरेमा एकाधिकार तोडिनेमा उहाँ सहमत हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “काठमाडौँभित्र सार्वजनिक सवारीसाधन व्यवस्थित गर्न काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण पनि बनायौँ । देशभरिकै लागि एउटा संयन्त्र बनाउने सन्दर्भमा छलफल गरिरहेका छौँ तर राज्यले लगानी गरेर अहिल्यै सुरु गर्ने भन्ने छैन । भएको संयन्त्रलाई नियमन गरेर दीर्घकालीन योजनातर्फ जाने हो ।”

महासङ्घका अध्यक्ष स्वाँरले सार्वजनिक यातायातका सन्दर्भमा व्यवसायीबाट पनि कमजोरी भएको स्वीकार गर्दै व्यवस्थित गर्न नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले नियमन र व्यवस्थापन

गर्ने विषयमा व्यवसायी पनि थप जवाफदेही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सार्वजनिक यातायातसम्बन्धी नीति, कार्यविधि बनाउनु पर्छ । सरकारले व्यवस्थित गर्ने कुरामा हाम्रो पनि सहयोग हुन्छ तर १५ वर्ष पुराना रातो नम्बरप्लेटका निजी सवारीसाधनलाई यात्रु बोक्न दिएर हामीलाई समस्यामा पार्ने काम राज्यका तर्फबाट हुनुभएन ।”

व्यवस्थित गर्नै पर्छ : विज्ञ 

सडक सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक केशव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात अस्तव्यस्त हुँदा मोटरसाइकलको सङ्ख्या ८० प्रतिशतभन्दा बढी भएको हो । उहाँले भन्नुभयो, “सार्वजनिक यातायात व्यवस्थित र सुविधायुक्त भए मोटरसाइकल चढ्ने व्यक्ति पनि बस चढ्न थाल्छन् । यसले ट्राफिक जामको समस्या पनि न्यूनीकरण हुन्छ । भौतिक संरचनामा व्यापक सुधार चाहिन्छ, साथै सार्वजनिक यातायातका साधनलाई चढ्नलायक, जनताको पायक बनाउनु पर्छ ।”

यातायातविज्ञ आशिष गजुरेलले एउटा बसको ठाउँ २० देखि ५० वटासम्म मोटरसाइकलले ओगटेपछि सहरको ट्राफिक र जनजीवन नै अस्तव्यस्त भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँको सार्वजनिक यातायातलाई दूरदृष्टि राखेरै रूपान्तरण गर्नु पर्छ । उहाँले भन्नुभयो, “काठमाडौँ मात्रै होइन, देशैभरिका सहरलाई व्यवस्थित गर्न सार्वजनिक यातायातलाई व्यवस्थित र सर्वसुलभ बनाउन राज्यले लगानी गर्नै पर्छ ।” गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार