असार २३, २०८२ सोमबार July 7, 2025

हातहतियार र लागुऔषध कारोबार गर्ने भारतीय गिरोहका मुख्य नाइके पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षका बग्गा भन्ने प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवलाई विराटनगर महानगरपालिका- १६ दरैयाबाट लागुऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाइट्रोसन र ५१ चक्की नाइट्राभेटसहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैधरुपमा हातहतियार तथा लागुऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ ।

यादवले २०७५ मङ्सिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका १९ का मन्दीप तामाङलाई ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल र चार थान गोली सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार बस्ने ३५ वर्षीय सुशील कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए । मन्दीप र सुशीललाई विराटनगर महानगरपालिका १६ को विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाएको र ती हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको खुल्न आएको थियो ।

यसैगरी २०७५ मङ्सिर ८ गते उनले विराटनगर महानगरपालिका १६ बस्ने २२ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई तीन सय ८० एम्पुल विभिन्न नियन्त्रित लागुऔषध, एक सय पाँच ग्राम एक सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र दुई राउण्ड गोलीसमेत विराटनगरको बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भइ ललितपुरको ललितपुर महानगरपालिका ४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिइ पठाएका थिए ।

यो घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर महानगरपालिका ११ को बसपार्कबाट पक्राउ गरी लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा हातहतियार र लागुऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाइके समेत यादव रहेको खुल्न आएको थियो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया