चितवन । कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ। कारागारमा रहेका २२ जनामा समस्या देखिएपछि उपचार सुरु गरिएको हो।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार गरिएको छ। मौसममा आएको परिवर्तनसँगै वर्षात्का कारण समस्या देखिएको उनले बताए।
सङ्क्रमित बिरामी, क्षयरोगीलगायत स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई छट्टै राखेर उपचार गर्ने गरिएको ढुङ्गानाले बताए। कारागार कार्यालयमा रोग फैलन नदिनका लागि उच्च सतर्कता अपनाइएको बताउँदै उहाँले कैदीबन्दीलाई सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरिएको उल्लेख गरे।
क्षमताभन्दा बढी कैदीबन्दी हुनु, मौसममा आएको परिवर्तनसँगै महामारी फैलनसक्ने भएकाले आवश्यक सुरक्षाका लागि सावधानी अपनाउन भनिएको हो।
उनका अनुसार कारागारमा अहिले ७१६ जना कैदीबन्दी र चार जना आश्रित बालबालिका छन्। कारागारमा ३५ महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ महिला र ६७३ जना पुरुष कैदीबन्दी छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया