भाद्र ९, २०८३ मंगलबार August 25, 2026

तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

निर्धारित मितिमै भयरहित चुनाव गराउने सरकारको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताएकी छन्। राजनीतिक दलहरूसँग आज भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ।

दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो। सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन।’

राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको बताउँदै प्रधानमन्त्री कार्कीले अब जेनजी र दलहरू बसेर जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान आह्वान गरिन्। ‘चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ। यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन आज विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गरेकी हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए।

संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।

त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया