कार्तिक २९, २०८३ आइतबार November 15, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मधेशमा छठ पर्व सम्पन्न : ‘छठके सनेस’ सुरु

सूर्यदेव र उनकी पत्नी षष्ठी (मैथिली बोलीचालीमा छठी)को आराधना गरिने यो पर्वको प्रभावले रोग नलाग्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी। मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ ।

पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसरी निर्जला व्रत अहिले बिहान सूर्योदयसँगै सम्पन्न गरिएको हो ।

आज बिहान मधेश प्रदेशमा ६ः१२ बजेको समयमा सूर्योदय हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । तर महोत्तरीका अधिकांश भेगमा आज बिहान झिसमिसेदेखि नै धुम्म बादल लाग्दा सूर्यदेव देखिन ढिलो भएको बर्दिबास–२ की बर्तालु देवकला महतोले बताउनुभयो । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ ।

मिथिला क्षेत्रमा आज बिहान बादल लागेर मौसम सफा नहुँदा घाम देखिन बर्तालुले निकै बेर पर्खनुपरेको छ । घाम झुल्केको देखेपछि अघ्र्य दिएर बर्तालुले पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीनपटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए ।

पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सक्खरमा पकाइएको खिरमात्र खाएका थिए । बर्तालुले ३० घण्टा बढीको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । सूर्यदेवलाई सप्तमीका दिन बिहान अर्घ्य दिएर व्रत सम्पन्न गरिने विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

बर्तालुले यसपालि गत शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । माछामासु, लसुनप्याज, मुसुरो र कोदोसहितका विधिमा अशुद्ध मानिएका खानेकुरा वर्जित गरी अरवा सात्विक भोजन गरिने हुँदा यो विधिलाई ‘अरबाअरबाइन’ पनि भनिन्छ ।

त्यसैगरी, गत आइतबार पञ्चमीका दिन ‘खरना’ र सोमबार षष्ठी तिथिका दिन निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । ‘सझुका अरख’लाई मिथिलामा ‘सझियाघाट’ पनि भन्ने गरिन्छ ।

आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने-खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पीठो सक्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरीचेली (छोरी, दिदीबहिनी, फूपू) मित-मितिनी र अन्य इष्टजनको घर पठाउने परम्परा रहेको छ ।

मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’(छठको कोसेली)भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।

केही दशकअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनेको छ । संघीय राजधानी काठमाडौँ, मुख्य सहरमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुत बन्न-बनाउन यसले मद्दत गरेको बुद्धिजीवी बताउँछन् ।

सूर्यदेव र उनकी पत्नी षष्ठी (मैथिली बोलीचालीमा छठी)को आराधना गरिने यो पर्वको प्रभावले रोग नलाग्ने, रोगव्याध निको हुने, सन्तान सुख प्राप्त हुने र अन्य मनोवाञ्छित फल प्राप्त हुने मैथिल जनविश्वास छ । मुख्यत यो व्रतको प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने विश्वास गरिन्छ ।

छठ पर्वका अवसरमा संघीय सरकार र प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
२०८३ कार्तिक २९, आइतबार
लगानी आकर्षित गर्न ५९ वटा ऐन फेरिँदै
२०८३ कार्तिक २९, आइतबार
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार