झापा, २७ कात्तिकः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते क्षतिग्रस्त विर्तामोड नगरपालिका कार्यालय र नेपाली कांग्रेस झापाको कार्यालय भवनको आज निरीक्षण गर्नुभएको छ ।
विर्तामोड नगरपालिका कार्यालयको निरीक्षणमा आउनुभएका सभामुख घिमिरेलाई नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले भवनमा पुगेको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो । सभामुख घिमिरेले आजै विर्तामोडस्थित नेपाली कांग्रेस झापाको क्षतिग्रस्त जिल्ला पार्टी कार्यालयको समेत निरीक्षण गर्नुभयो । उहाँलाई नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।
सभामुख घिमिरेले विर्तामोडकै गोकुल जोशी मार्ग र हर्कलाल मार्गको निर्माणाधीन सडकको निरीक्षण गर्नुभयो । पुनःनिर्माण भइरहेको जिल्ला ट्राफिक कार्यालय भवन र अनारमनी इलाका प्रहरी कार्यालयको समेत उहाँले निरीक्षण गर्नुभयो ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा विर्तामोड नगरपालिका, जिल्ला ट्राफिक कार्यालय र अनारमनी इलाका प्रहरी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । इलाका प्रहरी कार्यालयबाट प्रहरीका हतियार, गोली र पोसाक लुटिएको थियो भने थुनुवाहरु फरार भएका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया