काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (एमडी/एमएस, नर्सिङ्ग सहित) का लागि आगामी शैक्षिक सत्रमा देशभर २ हजार ३० सिट तोकेको छ। आयोगका अनुसार निर्धारण गरिएको सिटमध्ये १ हजार ३१ सिट सरकारी मेडिकल कलेजका लागि र ९९९ सिट निजी कलेजका लागि छुट्याइएको छ।
देशभर १८ वटा सरकारी र २७ वटा निजी मेडिकल कलेजमार्फत पीजी तहको पठन–पाठन हुँदै आएको छ। आयोगले गत वर्षको तुलनामा सरकारी कलेजतर्फ केही सिट वृद्धि भए पनि निजी क्षेत्रमा भने सिट घटेको जनाएको छ।
सरकारी कलेजमध्ये राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले सबैभन्दा धेरै २४५ सिट प्राप्त गरेको छ। त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई २०४, **महाराजगन्ज मेडिकल क्याम्पस (शिक्षण अस्पताल)**लाई ११८, त्रिवि आयुर्वेद क्याम्पसलाई ४ र सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायलाई २ सिट तोकिएको छ।
निजीतर्फ काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस ले सबैभन्दा धेरै १२७ सिट पाएको छ। त्यसपछि चितवन मेडिकल कलेजलाई ८९ र नेसनल मेडिकल कलेज, वीरगन्जलाई ८१ सिट निर्धारण गरिएको छ।
आयोगले सिट निर्धारणसँगै आगामी दिवसहरूमा प्रवेश परीक्षा तथा भर्ना प्रक्रियाको समयसूची सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया