भोजपुर, १९ मङ्सिर : यहाँको टेम्केमैयुङ गाउँपालिकाले समुदायिक स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले निर्वाह गरेको भूमिकाको कदरस्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो ।
नागरिकस्तरमा महिला स्वयंसेविकाहरूले पुर्याएको कदरसँगै मनोवल उच्च बनाउने लक्ष्यले नौवटै वडाका स्वयंसेविकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । स्वयंसेविकाहरूले परिवार नियोजन, मातृ स्वास्थ्य, खोप अभियान, पोषण सुधार तथा स्वास्थ्य सचेतनामा देखाएको सक्रियता महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
“नागरिक तहमा महिला स्वास्थ्य स्वयंसेविकाले निभाउँदै आएको भूमिका अत्यन्त प्रेरणादायक छ”, उपाध्यक्ष राईले भन्नुभयो, “समुदायमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो । यसले उनीहरूमा अझ थप ऊर्जा, आत्मविश्वास र सेवा उत्साह वृद्धि हुने अपेक्षा छ ।”
गाउँपालिकाले आगमी वर्षहरूमा स्वयंसेविकाको क्षमता अभिवृद्धिका लागि तालिम, प्रोत्साहन र नियमित समन्वय कार्यक्रमलाई अझ व्यवस्थित रूपमा अघि बढाउने जनाएको छ । बाइसौँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया