काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल, निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकारलाई आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा राष्ट्रपति पौडेलले निर्वाचन प्रक्रियालाई कुनै पनि प्रकारले प्रभावित नहुने गरी सबै सरकारी गतिविधि अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।
राष्ट्रपतिले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उहाँले अघिल्ला निर्वाचनको अनुभवलाई आधार मान्दै यसपटक अझ तदारुकताका साथ सुरक्षा तयारी गर्न नेपाली सेनासहित सबै सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिनुभएको हो । शान्ति, स्थिरता र जनताको विश्वास कायम राख्नु सुरक्षा निकायको प्रमुख दायित्व रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेलसमक्ष परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा देशको समग्र सुरक्षा अवस्था, चुनौती र आगामी रणनीतिबारे उल्लेख गरिएको थियो ।
सोही अवसरमा राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौती मात्र नभई भविष्यमा उत्पन्न हुन सक्ने सम्भावित जोखिमसमेत समयमै आँकलन गर्न राष्ट्रिय सुरक्षा परिषद्लाई आग्रह गर्नुभयो । परिषद्ले आगामी दिनमा अझ प्रभावकारी, समन्वयात्मक र जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले मुलुकको राष्ट्रिय हित र लोकतान्त्रिक प्रक्रियाको संरक्षणमा सबै निकाय एकताबद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया