काठमाडौँ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले भेट गर्नुभएको छ। आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको हो।
भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो। सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गर्नुभयो।
सम्माननीय प्रधानमन्त्रीज्यूले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लाग्नुभएकोमा बधाई तथा सफल यात्राको कामना गर्नुभयो। साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हित विपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाउनुभयो।
चीनबाट सदा झैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया