काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सङले राष्ट्रपति भवन शीतल निवासमा बिदाइ भेट गरेका छन्। भेटका क्रममा उनीहरूबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, तथा साझा हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन पुर्याएको योगदानका लागि राजदूत छन् सङप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सम्मान र सहयोग आगामी दिनहरूमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै शिक्षा, पूर्वाधार, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा चीनको सहयोग महत्वपूर्ण रहेको बताए।
राजदूत छन् सङले आफ्नो कार्यकालका दौरान नेपाल सरकार तथा नेपाली जनताबाट पाएको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि नेपाल–चीन सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे। उनले चीन सरकार नेपालसँगको मित्रता र सहकार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहेको पनि बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया