काठमाण्डौं । रौतहटको कटहरिया नगरपालिकामा रहेको ज्योती डिस्टिलरीमा शनिबार बिहान शक्तिशाली विस्फोट भएको छ । डिस्टिलरीमा जडान गरिएको बोइलर अचानक विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् ।
प्रारम्भिक जानकारीअनुसार विस्फोट अत्यन्तै ठूलो भएकाले डिस्टिलरी परिसरमा भौतिक क्षति पुगेको छ । विस्फोटको आवाज टाढासम्म सुनिएको स्थानीयवासीले बताएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ पठाइएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । उहाँले विस्फोटको कारण पत्ता लगाउन प्रहरी टोलीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो । हालसम्म मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
विस्फोटपछि केही समय डिस्टिलरी क्षेत्रमा अफरातफरी मच्चिएको थियो भने सुरक्षाका लागि प्रहरीले क्षेत्र नियन्त्रणमा लिएको छ । बोइलर विस्फोटको कारण प्राविधिक त्रुटि वा लापरवाही के हो भन्ने विषयमा विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया