श्रावण १८, २०८३ सोमबार August 3, 2026

अनशनको ९औँ दिन डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर

वीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार भइरहेको र अवस्था निगरानीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा बसेका डा. निकोलस भुसाललाई स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।

काठमाडौंको माइतीघर मण्डलामा विगत ९ दिनदेखि आमरण अनशनमा बसेका डा. भुसालको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बुधबार प्रहरीले हस्तक्षेप गरी उनलाई वीर अस्पताल पुर्‍याएको हो। लामो समयदेखि अन्न–पानी त्यागेका कारण उनको शारीरिक अवस्था कमजोर बन्दै गएको बताइएको छ।

डा. भुसाललाई केही दिनयता जीउ सुन्निने, रिंगटा लाग्ने, अत्यधिक कमजोरी महसुस हुने जस्ता समस्या देखिएको थियो। स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश संरचना खारेजीलगायतका राजनीतिक तथा शासकीय माग राख्दै डा. भुसालले आमरण अनशन सुरु गरेका थिए। अनशन अवधिभर उनले आफूका माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिँदै आएका थिए।

वीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार भइरहेको र अवस्था निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ। यता, डा. भुसालको अनशन र मागप्रति विभिन्न पक्षबाट चासो व्यक्त भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया