काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले देशव्यापी रूपमा पर्चा वितरण कार्यक्रम सुरु गरेको छ। पार्टीले सोमबार काठमाडौंको भोटाहिटीबाट औपचारिक रूपमा पर्चा वितरण अभियानको शुभारम्भ गरेको हो।
आगामी निर्वाचनको सन्दर्भ तथा वर्तमान समसामयिक राष्ट्रिय राजनीतिबारे पार्टीका धारणा आम नागरिकसमक्ष पुर्याउने उद्देश्यसहित पर्चा वितरण कार्यक्रम सञ्चालन गरिएको पार्टीले जनाएको छ। पर्चामार्फत् देशको राजनीतिक अवस्था, सुशासन, आर्थिक अवस्था, सामाजिक न्याय र वैकल्पिक राजनीतिको आवश्यकता बारे पार्टीको दृष्टिकोण प्रस्तुत गरिएको छ।
पर्चा वितरण कार्यक्रमको शुभारम्भ पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गर्नुभएको हो। सो अवसरमा भुसालले वर्तमान राजनीतिक अभ्यासले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै वैकल्पिक राजनीतिक धारको खाँचो औंल्याउनुभयो। उहाँले जनताको अधिकार, राष्ट्रिय स्वाधीनता र समाजवादी मूल्य–मान्यतामा आधारित राजनीति आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूले राजधानीका विभिन्न स्थानमा पर्चा वितरण गर्दै नागरिकसँग प्रत्यक्ष संवाद पनि गरेका थिए। उनीहरूले जनताका गुनासा, सुझाव र धारणा सुन्दै पार्टी आगामी दिनमा जनमुखी अभियानलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन्।
पार्टीका अनुसार पर्चा वितरण कार्यक्रम काठमाडौं उपत्यकामा मात्र सीमित नरही देशका विभिन्न जिल्ला, पालिका र बस्तीहरूमा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। यस अभियानले पार्टीको संगठन विस्तार र जनसम्पर्कलाई बलियो बनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया