काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवल शमशेर जबरा र अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्। नवगठित दलको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ।
पार्टीका प्रवक्ता सुगन लावतीका अनुसार हालै सम्पन्न संस्थापक बैठकले डा. धवल शमशेर जबरालाई पार्टीको सभापति तथा दुर्गा प्रसाईंलाई सर्वोच्च नेताको जिम्मेवारी दिने निर्णय गरेको छ। पार्टीले देशको समसामयिक राजनीतिक अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढ्ने लक्ष्य लिएको जनाएको छ।
प्रवक्ता लावतीका अनुसार पार्टी दर्ताका लागि आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टीले साउन २८ गते निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ताको निवेदन दिने तयारी गरेको छ। प्रसाईंका स्वकीय सचिव दीपक खड्काले दल दर्तासम्बन्धी सबै कागजी प्रक्रिया र आवश्यक तयारी पूरा भइसकेको जानकारी दिएका छन्।
डा. धवल शमशेर जबरा राप्रपा परित्याग गरेपछि केही समयदेखि छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका थिए। उनी राजतन्त्र, राष्ट्रियता तथा सुशासनका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता औँल्याउँदै आएका थिए।
त्यसैगरी, दुर्गा प्रसाईं लामो समयदेखि विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। उनी बैंक तथा लघुवित्त पीडित, आर्थिक सुधार, स्वास्थ्य सेवा र जनजीविकासँग सम्बन्धित विषयमा अभियान सञ्चालन गर्दै आएका छन्। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पछिल्ला वर्षहरूमा विभिन्न राजनीतिक गतिविधिका कारण चर्चामा रहेका छन्।
नवगठित ‘जय नेपाल पार्टी’ले निकट भविष्यमा आफ्नो विधान, घोषणापत्र, संगठन संरचना तथा देशव्यापी अभियान सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। साथै, पार्टीले विभिन्न क्षेत्रका राजनीतिक, सामाजिक तथा नागरिक अगुवाहरूलाई समेट्दै संगठन विस्तार गर्ने रणनीति बनाएको बताइएको छ।
पार्टी गठनसँगै नेपालको राजनीतिक वृत्तमा नयाँ ध्रुवीकरणको सम्भावना बढेको विश्लेषण भइरहेका बेला ‘जय नेपाल पार्टी’ले आगामी निर्वाचन तथा समसामयिक राष्ट्रिय राजनीतिक मुद्दामा कस्तो भूमिका खेल्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया