काठमाडौँ । प्रतिनिधिसभाको क्यालेण्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद (डिपी)अर्यालले आज डाक्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।
प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्य प्रणालीलाई थप सुदृढ बनाउने उपायबारे परामर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।
छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोसाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको थियो ।
बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो । 
संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा सहभागी सदस्यहरूले जोड दिनुभएको थियो ।
प्रतिनिधिसभाको आगामी बैठक यही साउन २२ गते दिउँसो १ः००बजेका लागि तोकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया