श्रावण १८, २०८३ सोमबार August 3, 2026

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनियानी, १२ माघः झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२/१२ नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्टरोगी फेला परेका छन् । चालु आर्थिक वर्षमा ५३  कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताउनुभयो ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय २१ , आव २०७९/८० मा एक सय ५७ , आव २०८०/८१ मा एक सय २१ र २०८०/८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ । तथ्याङ्कको आधारमा हेर्दा २०७७/७८ मा सङ्क्रमण दर १.०२ प्रतिशतबाट आव २०८०/८१ मा आइपुग्दा १.४७% पुगेको देखिन्छ ।

विश्वमा बर्सेनि झण्डै दुई लाख नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको फोकल पर्सन दास बताउनुहुन्छ । चिह्न र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारको हुने उहाँले बताउनुभयो ।

“कम सर्ने खालको कुष्ठरोग र सर्ने खालको कुष्ठरोग हुन्छ”, उहाँले भन्नुभयो, “बहु–औषधि उपचार पद्धतिद्वारा छ देखि १२ महिनाको अवधिसम्म तीन प्रकारका औषधिको प्रयोगबाट कुष्ठरोग निको हुन्छ र समयमै कुष्ठरोगको उपचार भएमा अपाङ्गता पनि हुँदैन ।”सामाजिक अवहेलनाको डरले गाउँघरमा अझै पनि धेरै कुष्ठरोगी लुकेर रहेकाले सुक्ष्म रुपमा खोजपतड्ला गर्नुपर्ने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया