श्रावण १८, २०८३ सोमबार August 3, 2026

स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण

भारत सरकारसँग तीन सय शय्यामा अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री गौतमको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको छ । त्यस क्रममा उहाँले उपचार केन्द्रबाट भइरहेको सेवा प्रवाहबारे जानकारी लिनुभएको छ ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री गौतमलाई जानकारी गराउनुभयो ।

अघिल्लो सरकारका पालामा सम्पन्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भारत सरकारसँग तीन सय  शय्यामा अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री गौतमको ध्यानाकर्षण गराइएको थियो ।

जवाफमा स्वास्थ्य मन्त्री गौतमले उपचार केन्द्रलाई विशिष्ट अस्पतालको रूपमा विकास गरिने बताउनुभयो । मन्त्रालयका सचिव डा विकास देवकोटाले अस्पताललाई श्वासप्रश्वास अस्पतालको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा दिन यहाँ अस्पताल स्थापना गरिएको थियो  । सरकारले विसं २०६७ सोसम्बन्धी निर्णय गरेको थियो । हाल यहाँ पचास जनरल वाड सञ्चालनमा छन् ।

विसं २०७५ सालमा सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया