मुक्तिनाथ (मुस्ताङ), फागुन १९ गते । यही बिहीबार अर्थात् फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी चिनसँग सीमा जोडिएको कोरला नाका बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मतदानभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय नाका बन्द गर्नुपर्ने नियम अनुसार नाका क्षेत्रलाई पूर्णरुपमा बन्द गरी एकिकृत सुरक्षा योजना अनुसार कडाई गरिएको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ गते राति १२ देखि २१ गते राति १२ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले बताउनुभयो ।
कोरला नाकादेखि करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्मको सडकमा सवारीसाधनमार्फत ढुवानीसहित अन्य गतिविधिलाई समेत निगरानी गरिएको छ । स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चिनसँगसीमा जोडिएका कोरलासहित चिनसँग जोडिएका अन्य स्तम्भ रहेको क्षेत्रमा समेत स्थानीयलाई आवतजावत नगर्न अनुरोध गरिएको छ ।
समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रमा रहेका स्थानीय समेत सो अवधिमा बस्तीमा झर्नेछन् । उपल्लो मुस्ताङमा निर्वाचन लक्षित बेसक्याम्प बनाएर बसेको नेपाली सेनाको इन्द्र बक्स गणसहित नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको निर्वाचन लक्षित गस्तीसहित निगरानी समेत बढाइएको छ । सदरमुकाम जोमसोम–कोरला ११० किमी सडक तथा बेनी–जोमसोम सडकखण्डसहित जिल्लाभर तोकिएको अत्यावसेक सेवा बाहेक सवारीसाधन सञ्चालन समेत बन्द गरिने छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया