श्रावण १८, २०८३ सोमबार August 3, 2026

जुम्लाका ८ स्थानीय तहका किशोरीलाई एचपीभी खोप लगाइने

जिल्लाका ८ स्थानीय तहका ८४ वटा विद्यालयमा खोप केन्द्र स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुगु। जुम्ला जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका १ हजार २ सय ७७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ।

चैत ९ र १० गते दुई दिनसम्म सञ्चालन हुने अभियानका लागि अन्तिम तयारी पूरा भएको जनाइएको छ। सामुदायिक तथा निजी विद्यालयमा कक्षा ६ मा अध्ययनरत १ हजार १६५ जना छात्रालाई खोप लगाइनेछ भने विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १ सय १२ जना किशोरीलाई पनि खोप दिइनेछ।

राष्ट्रिय खोप अभियान अन्तर्गत यसअघि छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। जिल्लाका ८ स्थानीय तहका ८४ वटा विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ।

गाउँपालिकागत विवरणअनुसार चन्दननाथमा २ सय ७७, तातोपानीमा १ सय ६४, गुठीचौरमा ७७, पातारासीमा २ सय २१, तिलामा १ सय ८५, हिमामा २ सय २१, सिजामा १ सय ३५ र कनकासुन्दरीमा १ सय ७७ जना किशोरीलाई खोप लगाइनेछ।

यसका लागि जिल्लास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए। उनले भने, ‘गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई खोप दिइएको थियो भने यस वर्ष कक्षा ६ मा अध्ययनरत किशोरीलाई मात्र खोप दिइनेछ।’

एचपीभी खोप अभियान नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए। बाल मृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप महत्वपूर्ण मानिन्छ। अभियानबाट कोही पनि नछुट्ने र नदोहोरिने गरी प्रभावकारी रूपमा सञ्चालन गरिने तयारी गरिएको छ। नेपालमा वि.सं. २०३४ सालदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया