काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पताल बीच काठमाडौँ उपत्यकाभित्रका विद्यार्थीहरूको आँखा स्वास्थ्य सुधार गर्ने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ। यस कार्यक्रमअन्तर्गत करिब २० हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिने भएको छ।
बिहीबार आयोजित एक कार्यक्रममा महानगर स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै पक्षले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै दीर्घकालीन रूपमा दृष्टि समस्या न्यूनीकरण गर्ने लक्ष्य रहेको बताएका छन्।
सम्झौताअनुसार काठमाडौँ महानगरपालिकाले अस्पताललाई रु ३० लाख आर्थिक सहयोग प्रदान गर्नेछ। सो रकमबाट विशेषज्ञ चिकित्सकहरूको टोलीले कम्तीमा ३० वटा विद्यालयमा पुगेर विद्यार्थीहरूको आँखा परीक्षण गर्नेछ। परीक्षणका क्रममा दृष्टि कमजोर भएका वा अन्य समस्या देखिएका विद्यार्थीलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यस कार्यक्रमले विद्यालयस्तरमै आँखा सम्बन्धी समस्या पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी, समयमै उपचार नपाउँदा दीर्घकालीन दृष्टि समस्या भोगिरहेका बालबालिकालाई राहत मिल्ने विश्वास गरिएको छ।
महानगरले यसअघि पनि विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ भने यो पहलले विद्यार्थीको समग्र स्वास्थ्य र शैक्षिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया