श्रावण १८, २०८३ सोमबार August 3, 2026

अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर

सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा क्षयरोगको सङ्क्रमण झार्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ। आज विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताए। उनले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताए।

नेपालमा २०८१/०८२ मा औषधि संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरिएको थियो। तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए। उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशत फोक्सोबाहेकका अङ्गका क्षयरोग देखिएका थिए। यस्तै, औषधि प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना रहेका थिए।

केन्द्रका निर्देशक डा पौडेलले औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफलता पाइएको बताए। उनका अनुसार क्षयरोगका कारणले ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार बेहार्नुपरेको छ। समाजमा क्षयरोगीलाई लाञ्छना र सामाजिक भेदभाव पनि समस्याका रूपमा रहेको उनले उल्लेख गरे।

नेपालमा हरेक वर्ष १६ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको जनाइएको छ। यस रोगबाट मृत्यु दर प्रतिएक लाखमा ५३ जना रहेको छ। निर्देशक डा पौडेलले नियमित औषधि सेवन गरे ९२ प्रतिशत क्षयरोग निको हुने बताए। “नियमित छ महिना औषधि खाएका सय जनालाई हामीले परीक्षण गरेका थियौँ। तीमध्ये ९२ प्रतिशतको उपचार सफल भएको पाइयो”, उनले भने, “यसकारण समयमा र नियमित उपचार गर्न यो रोग लागेकाहरूलाई आग्रह गर्दै आएका छौँ।”

सरकारले सन् २०५० सम्म क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिएको छ। सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका बिरामी झार्ने लक्ष्य रहेको जनाइएको छ। केन्द्रका निर्देशक डा पौडेलका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा क्षयरोगको सङ्क्रमण झार्ने लक्ष्य रहेको छ।

आज ‘हो हामी क्षयरोग अन्त्य गर्छौं। राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथ दिवस मनाइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया