श्रावण १७, २०८३ आइतबार August 2, 2026

एकवर्षमा चार लाख बढीले पाए निःशुल्क आँखा उपचार

नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरू समेत उपचारका लागि नेपाल आउने क्रम बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं १२ चैत : विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको हो ।

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले संघद्वारा नेपाल सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क उपचार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२५ मा संघको सञ्जाल मार्फत ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरि २ लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको छ । कार्यकारी निर्देशक डा.मिश्रले भन्नुभयो, “ सन् २०२५ मा संघद्वारा सञ्चालित आँखा अस्पताल, उपचार केन्द्र तथा विभिन्न वाह्य कार्यक्रमहरु मर्फत २५ हजार ५ सय ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।”

नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप स्वयमसेवक तथा कर्मचारीहरु मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एबं दाताहरुको साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज, सर्वसुलभ र गुणस्तरीय उपचारमा पहुच पु¥याउन संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

नौ लाख बढी विदेशी नागरिक आँखा उपचार : अधिकांश भारतीय

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायतका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो “ एक बर्ष अर्थात् सन् २०२५ मा मात्र संघको सञ्जाल मार्फत ९ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरि १ लाख ५३ हजार ८६ बिरामीहरुको शल्यक्रिया गरिएको छ । यसमा अधिकांश भारतीय नागरिकहरु छन् । ”

उहाँले नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरू समेत उपचारका लागि नेपाल आउने क्रम निरन्तर बढिरहेको देखाएको छ जानकरी दिनुभयो । महासचिव चन्दले भन्नुभयो, “अब हाम्रो प्राथमिकता अझ व्यापक रूपमा आम नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवाको पहुचमा ल्याउँदै नेपाललाई आँखा उपचारको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो । यसका लागि नेपाल सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढिरहेका छौं ।”

अझै आँखा स्वास्थ्यमा जनचेतनाको अभाव

संघका अध्यक्ष प्राडा चेजराज पन्तले नेपालमा आँखा उपचारका क्षेत्रमा धेरै विकास भएता पनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालका ७ वटै प्रदेशलाई समेट्ने गरी सन् २०२१ मा गरिएको आरएएबी (RAAB) सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाका अभावमा सबैभन्दा बढि नागरिकहरु आँखा उपचार सेवाबाट बञ्चित रहेको देखाएको छ । उहाँले भन्नुभयो ,“सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ । ”

गैरसरकारी संस्थाका रुपमा विस २०३५ साल चैत्र १३ गते संघको स्थापना भएको थियो । संघ आफ्नो स्थापनाको ४७ वर्ष पार गरी ४८ वर्षमा प्रवेश गरेको छ । ४८औँ नेत्रज्योति दिवसको सन्दर्भमा संघले आँखा स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोगमार्फत सेवा सुदृढीकरण तथा समुदायस्तरमा सचेतना विस्तारलाई अझ प्राथमिकतामा राखेको संघले जनाएको छ ।

अध्यक्ष प्राडा पन्तले अब संघले आँखा उपचार सेवाको दायरालाई विस्तार गर्दे अन्धोपन न्यूनिकरणको अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालमा अन्धोपनाको अवस्था ०.२८ प्रतिशत छ यसलाई हामीले सन् २०३० सम्ममा ०.२० प्रतिशतमा झार्ने गरी काम गरिरहेका छौ । ”

संघले रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण, समयमै परीक्षण र उपचारको पहुँच विस्तार, तथा बालबालिका, ज्येष्ठ नागरिक र जोखिममा रहेका समूहलाई लक्षित कार्यक्रमहरूलाई तीव्रता दिइने जनाएको छ ।

स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा संघको सञ्जाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी ५ करोड २ लाख ४८९ जना जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार