असार १०, २०८३ बुधबार June 24, 2026

इरान युद्धका मूल लक्ष्य पूरा, अबको रणनीति अन्योलमा : अस्ट्रेलियाका प्रधानमन्त्री

अमेरिका-इजरायल आक्रमणले इरानको वायुसेना, नौसेना तथा सैन्य औद्योगिक संरचनालाई कमजोर बनाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिड्नी, चैत १९ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इरानविरुद्धको युद्धका मुख्य उद्देश्य पूरा भइसकेको उल्लेख गर्दै अब थप के हासिल गर्न बाँकी छ भन्ने स्पष्ट नभएको बताउनुभएको छ । राजधानी क्यानबेरामा बिहीबार आयोजित कार्यक्रममा उहाँले अमेरिका-इजरायल आक्रमणले इरानको वायुसेना, नौसेना तथा सैन्य औद्योगिक संरचनालाई कमजोर बनाएको दाबी गर्नुभयो ।

साथै क्षेत्रीय तनाव न्यूनीकरणतर्फ ध्यान दिन उहाँको आग्रह थियो । “अब ती उद्देश्य पूरा भइसकेका छन्, अझ के हासिल गर्न आवश्यक छ वा अन्तिम अवस्था कस्तो हुनेछ भन्ने स्पष्ट छैन”, उहाँले भन्नुभयो, “युद्ध जति लामो समयसम्म लम्बिन्छ, त्यसले विश्व अर्थतन्त्रमा त्यति नै गम्भीर प्रभाव पार्नेछ ।” आयातित इन्धनमा निर्भर अस्ट्रेलियाले करिब ३७ दिनको पेट्रोल मौज्दात रहेको जनाउँदै बढ्दो मूल्यको असर कम गर्न पेट्रोल कर घटाउने र व्यवसायलाई ६८ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने नीति अघि सारेको छ ।

प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलिया उक्त युद्धमा प्रत्यक्ष सहभागी नभएको पुनः स्पष्ट पार्नुभयो । यसैबिच, अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्यानबेराले बेलायत र फ्रान्ससँग मिलेर स्ट्रेट अफ हर्मुज खुला राख्न कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । विश्वको करिब पाँचौ हिस्सा तेल आपूर्ति हुने उक्त जलमार्ग हाल तनावका कारण प्रभावित बनेको छ ।

फेब्रुअरी २८ मा अमेरिका-इजरायल आक्रमणपछि क्षेत्रीय द्वन्द्व चर्किएसँगै इरानले उक्त जलमार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व बजारमा तेल तथा ग्यासको मूल्य वृद्धि भएको छ । “स्ट्रेट अफ हर्मुज खुला रहनुमा हाम्रो चासो छ, तर हालको अवस्थामा त्यस्तो कदम चाल्ने परिस्थिति बनेको छैन”, उहाँले एक अन्तर्वार्तामा भन्नुभयो । बेलायतको पहलमा हुने बहुराष्ट्रिय बैठकमा अस्ट्रेलिया सहभागी हुने पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री अल्बानिजको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध दुईदेखि तीन हप्तासम्म ‘कडा सैन्य कारबाही’ जारी राख्ने बताएका केही समयपछि आएको हो । ट्रम्पले आफ्नो टेलिभिजन सम्बोधनमा संयुक्त राज्य अमेरिकाको लक्ष्य इरानी सैन्य क्षमता कमजोर बनाउने, क्षेत्रीय सशस्त्र समूहलाई इरानको समर्थन अन्त्य गराउने तथा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने रहेको बताउनुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया