बैसाख १६, २०८३ बुधबार April 29, 2026

प्रधानमन्त्री कपः त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । यहाँ वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको हो ।

सुरुआती ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन जोडेको थियो । त्रिभुवन आर्मीका तर्फबाट अर्जुन साउदले १२० बल खेल्दै १२१ रन जोडेका थिए । यसैगरी, आर्मीकै बसीर अहमदले ७० बलमा ४५ रन जोडेका थिए ।

कर्णाली प्रदेशका दिनेश अधिकारीले चार विकेट र प्रकाश जैसीले तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा सीमित भएको थियो । कर्णालीका तर्फबाट विपिनविक्रम शाही ठकुरीले ४० रन र अर्जुन घर्ती मगरले ३२ रन जोडेका थिए ।

त्रिभुवन आर्मी क्लबका सहाब आलम र बसिर अहमदले सामान तीन-तीन विकेट लिएका थिए । आजको खेलमा त्रिभुवन आर्मी क्लबका अर्जुन साउद ‘प्लेयर अफ दी म्याच’ भने घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया