काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लचिलो देखिएको छ ।
पछिल्लो समय फिफाले दिएको कडा चेतावनी र एन्फाको आग्रहपछि राखेपले प्रतिबन्धबारे पुनर्विचार गर्न सकिने संकेत दिँदै वार्ताको प्रस्ताव अघि सारेको हो । बुधबार एन्फालाई पत्रमार्फत् जवाफ पठाउँदै राखेपले विद्यमान समस्या समाधानका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफा, एसियाली फुटबल महासंघ (एएफसी), एन्फा र राखेपबीच संयुक्त बैठक बस्नुपर्ने प्रस्ताव गरेको छ ।
चार दिनअघिमात्रै फिफाले सात दिनभित्र प्रतिबन्ध फुकुवा गरी चुनावी प्रक्रिया सुचारु नगरे फुटबलमाथि नै गम्भीर संकट आउन सक्ने चेतावनी दिएको थियो । राखेपले आफ्नो पत्रमा संस्थागत पारदर्शिता कायम गर्नका लागि मात्रै कदम चालेको स्पष्ट पारेको छ ।
कानुनविपरीतका गतिविधि देखिएपछि निर्वाचन प्रक्रियालाई अस्थायी रूपमा रोक्नुपरेको दाबी गर्दै राखेपले अब निकासका लागि साझा कार्ययोजना बनाउनुपर्नेमा जोड दिएको छ । प्रतिबन्ध फुकुवाका लागि राखेपले केही महत्त्वपूर्ण शर्त र प्रस्तावहरू अघि सारेको छ, जसमा वर्तमान अवस्थाको समीक्षा गर्न फिफा र एएफसीसहितको सरोकारवाला बैठक तत्काल बस्नुपर्ने तथा निर्वाचनको नयाँ समयरेखा र प्रक्रिया निर्धारण गर्न सबै पक्षबीच साझा सहमति र कार्ययोजना तयार हुनुपर्नेलगायत विषय छन् ।
फिफाले दिएको समयसीमा सकिनै लाग्दा राखेपको यो कदमले नेपाली फुटबलमा देखिएको कानुनी र प्रशासनिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया