बैसाख ८, २०८३ मंगलबार April 21, 2026

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक: २७ हजार बढी लाभान्वित

७० वर्षभन्दा माथिका छ हजार ४६२ जनाले सेवा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार ८३९ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्ममा २७ हजार ८३९ बिरामी प्रत्यक्ष लाभान्वित भएका हुन् ।

ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रमबाट सो अवधिमा २० हजार ८७५ महिला र छ हजार ९६४ जना पुरुषले निःशुल्क विशेषज्ञ सेवा लिएका कार्यक्रमका स्रोत व्यक्ति कृष्ण बोहराले जानकारी दिए ।

उनका अनुसार सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको हो । सो अवधिमा १६ हजार ९०० जनाले जनरल फिजिसियनबाट, तीन हजार ७१५ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र सात हजार २२४ जनाले आँखा रोगसम्बन्धी सेवा लिएका छन् ।

उनका अनुसार क्लिनिकमा १८ हजार १६ जनाले प्रयोगशाला सेवा, तीन हजार ८७ जनाले इसिजी सेवा, तीन हजार ४९८ गर्भवतीले सेवा लिएकामा एक हजार ३०६ जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन् । यस्तै ७० वर्षभन्दा माथिका छ हजार ४६२ जनाले सेवा लिएका छन् ।

विसं २०७९ को साउनबाट सुरु गरिएको सो कार्यक्रम हरेक महिना १९ वटै वडामा सञ्चालन गर्ने गरिएको उनले बताए । आव २०८१/८२ मा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुष गरी ४४ हजार ४५१ जनाले सेवा लिएका उपमहानगरपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया