काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले करिब ८ हजार कर्मचारी घटाउने योजना अघि सारेको छ । कम्पनीले आगामी मे देखि कर्मचारी संख्या घटाउने प्रक्रिया सुरु गर्ने तयारी गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेटाले प्रारम्भिक चरणमै आफ्नो विश्वव्यापी कर्मचारी संख्याको करिब १० प्रतिशत घटाउने लक्ष्य राखेको छ । यस वर्षको दोस्रो भागमा पनि थप कर्मचारी कटौती हुन सक्ने जनाइएको छ ।
कम्पनीका प्रमुख मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । यसकै कारण भविष्यमा व्यवस्थापन तह घटाउने र प्रविधिको सहायताबाट कामलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइएको छ ।
प्रविधि र सञ्चार क्षेत्रमा कर्मचारी कटौतीको लहर मेटामा मात्र सीमित छैन । पछिल्ला महिनामा अमेजनले करिब ३० हजार कर्मचारी हटाएको छ भने डिजनीले पनि विभिन्न विभागबाट करिब १ हजार कर्मचारी घटाउने घोषणा गरेको छ ।
तथ्यांक अनुसार सन् २०२४ यता मात्रै विश्वभर ७३ हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाइसकेका छन् । अघिल्लो वर्ष यो संख्या डेढ लाखभन्दा बढी पुगेको थियो ।
यसैबीच फेसबुकका लागि सामग्री व्यवस्थापन गर्ने कम्पनी समाले पनि १ हजार १ सयभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । मेटासँगको सम्झौता अन्त्य भएपछि यस्तो निर्णय गरिएको जनाइएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया