बैसाख १४, २०८३ सोमबार April 27, 2026

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

शक्तिशाली कम्पन भएका स्थानहरूमा चट्टान खस्ने र भूस्खलनको जोखिम बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, वैशाख १४ गते । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठुला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबिच आएको यो कम्पनले जोखिम अझै टरेको छैन भन्ने सङ्केत दिएको छ ।

जापानी मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्प स्थानीय समय अनुसार बिहान ५ः२३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर आएको हो । यसको गहिराइ करिब ८३ किलोमिटर रहेको जनाइएको छ, जुन प्रारम्भिक ६।१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको हो ।

यस भूकम्पपछि कुनै सुनामी चेतावनी जारी नगरिएको भए पनि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस गरिएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनसङ्ख्या कम रहेको क्षेत्र नजिक केन्द्रित भएकाले ठुलो जनधन क्षतिको सम्भावना न्यून रहेको आँकलन गरेको छ । यद्यपि, जेएमएका अधिकारीहरूले शक्तिशाली कम्पन भएका स्थानहरूमा चट्टान खस्ने र भूस्खलनको जोखिम बढेको चेतावनी दिएका छन् ।

जेएमएले आगामी केही दिन तथा हप्तामा यस्तै स्तरका थप भूकम्प आउन सक्ने उच्च सम्भावना रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । यसअघि केही घण्टा अगाडि नै होक्काइडोभन्दा केही सय किलोमिटर दक्षिण समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जसले क्षेत्रको भूकम्पीय सक्रियता निरन्तर बढिरहेको सङ्केत दिएको छ ।

यो घटनाक्रम गत हप्ता उत्तरी इवाटे प्रान्तमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको हो, जसले ठूलो क्षति नगरे पनि देशभर त्रास फैलाएको थियो । उक्त भूकम्पको प्रभाव राजधानी टोकियोसम्म पुगेको थियो, जहाँ ठुला भवनहरू हल्लिएका थिए र छ जना घाइते भएका थिए । साथै, इवाटे क्षेत्रमा करिब ८० सेन्टिमिटर उचाइका सुनामी छालहरू देखिएका थिए भने अन्य उत्तरी क्षेत्रमा साना छालहरू ठोक्किएका थिए ।

त्यसपछि जेएमएले ८.० वा सोभन्दा माथिको शक्तिशाली भूकम्प आउने सम्भावना सामान्य अवस्थाभन्दा बढी रहेको चेतावनी दिएको थियो । अहिलेको ६.२ म्याग्निच्युडको भूकम्पलाई पनि सोही शृङ्खलाको एक हिस्सा मानिएको छ ।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो । चार प्रमुख टेक्टोनिक प्लेटहरूको सङ्गममा रहेको यस देशमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्प आउने गरेका छन् । यो विश्वभरका कुल भूकम्पको झन्डै १८ प्रतिशत हो ।

सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले १८ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको थियो । त्यसयता जापानले भूकम्प पूर्वतयारी र जोखिम न्यूनीकरणमा ठुलो लगानी गर्दै आएको भए पनि पछिल्ला गतिविधिहरूले पुनः सतर्क रहनुपर्ने अवस्था देखाएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई
२०८३ बैसाख १४, सोमबार
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
२०८३ बैसाख १४, सोमबार
काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
२०८३ बैसाख १४, सोमबार
सञ्चार मन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेट
२०८३ बैसाख १४, सोमबार
मालीमा सैन्य आक्रमण, रक्षा मन्त्री सादियो क्यामारा मारिए
२०८३ बैसाख १४, सोमबार
वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै
२०८३ बैसाख १४, सोमबार
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरुद्धको रिटमा कारण देखाऊ आदेश
२०८३ बैसाख १४, सोमबार