बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान

दुर्गम क्षेत्रमा ‘लाइफलाइन’ बन्यो हवाई उद्धार सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाजुरा । दुर्गम भौगोलिक अवस्थाका कारण आधारभूत स्वास्थ्य सेवा समेत पहुँचबाहिर रहेको बाजुरा लगायत हिमाली जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ। ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा गर्न यो सेवा ‘जीवनदायी माध्यम’ सावित भइरहेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा २०७७ सालदेखि हालसम्म बाजुराबाट मात्र ३८ जना गर्भवती तथा सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो।

जिल्लामा जटिल प्रसूति समस्या, अत्यधिक रक्तस्रावजस्ता अवस्थाको उपचारका लागि पर्याप्त सुविधा नहुँदा बिरामीलाई जिल्ला अस्पतालबाट काठमाडौँ, सुर्खेत, धनगढी र नेपालगञ्जका सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा हवाई उद्धारले छोटो समयमै उपचार सम्भव बनाउँदै आमासहित नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स निशा रोकायाले बताउनुभयो।

बाजुराबाट हालसम्म उद्धार गरिएका ३८ जनामध्ये ३७ जनाले नयाँ जीवन पाएको तथ्याङ्कले कार्यक्रमको प्रभावकारिता प्रस्ट देखाएको छ। दुर्गम जिल्लामा आकस्मिक स्वास्थ्य सेवा सुदृढ गर्न हवाई उद्धार कार्यक्रमले खेलेको भूमिका उल्लेखनीय मानिएको छ।

स्थानीय तहमा पर्याप्त स्वास्थ्य पूर्वाधारको अभाव कायमै रहेकाले यस्तो सेवा अझै अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ । यो कार्यक्रम दुर्गम जिल्लामा ज्यान जोखिममा रहेकी गर्भवती तथा सुत्केरी आमाका लागि वरदान सावित भइरहेको छ।राजेन्द्र विक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया