बैसाख १९, २०८३ शनिबार May 2, 2026

गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बस्नेत नियुक्त

तीन दशकभन्दा लामो पत्रकारिता अनुभव भएका बस्नेत २०५० सालमा उपसम्पादकका रूपमा गोरखापत्रमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १९ । गोरखापत्र संस्थान अन्तर्गत प्रकाशित गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बस्नेत नियुक्त हुनुभएको छ। संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी ले उहाँलाई दुई वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गर्नुभएको हो। करिब २१ वर्षपछि गोरखापत्रले स्थायी प्रधान सम्पादक पाएको हो।

बस्नेत प्रबन्ध सम्पादक (तह १०) बाट ११ मा बढुवा भएसँगै निमित्त प्रधान सम्पादकबाट औपचारिक रूपमा प्रधान सम्पादकमा नियुक्त हुनुभएको हो। यसअघि २०६२ सालमा उद्धवदेव उपाध्याय प्रधान सम्पादक नियुक्त भएपछि सो पद लामो समयदेखि निमित्तकै रूपमा सञ्चालन हुँदै आएको थियो।

तीन दशकभन्दा लामो पत्रकारिता अनुभव भएका बस्नेत २०५० सालमा उपसम्पादकका रूपमा गोरखापत्रमा प्रवेश गर्नुभएको थियो। उहाँले सहसम्पादक, नायब कार्यकारी सम्पादक, निमित्त प्रबन्ध सम्पादक र निमित्त प्रधान सम्पादकजस्ता विभिन्न जिम्मेवारी सम्हाल्दै अर्थ नीति तथा विकास पत्रकारितामा विशेष दख्खल हासिल गर्नुभएको छ।

पदोन्नतिसँगै प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै बस्नेतले संस्थानप्रति धन्यवाद व्यक्त गर्दै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। अध्यक्ष भण्डारीलगायत सञ्चालक समितिका सदस्य र सहकर्मीहरूको उपस्थितिमा उहाँले पदबहाली गर्नुभएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया